पक्राउ गरि वेपत्ता पारिएको हुकुम बहादुर शाहीको परिवारले २२ बर्षसम्म पनि वेपत्ता आफन्तको लास र सासको अवस्था थाहा पाउन नसके पछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका–८ सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ चैत्र २४ गते बलपूर्वक पक्राउ गरी बेपत्ता पारेको थियो ।
बर्षौ देखि न्यायिक अभियानमा लागेका आफन्तले सत्यतथ्य थाहा पाउनमा भएको ढिलाईका कारण निराश हुँदै गत चैत्र १४ गते हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् । बेपत्ता पारिएका हुकुम बहादु शाहीकी श्रीमती जयन्त शाही, छोरा सन्तोष शाही सहितका परिवारले सामाजिक परम्परा अनुसार शवको कुश बनाई अन्त्यष्टि गरेर हाल बर्दिया सुतैया स्थित घरमा बेपत्ता हुकुम बहादुरको क्रिया बसेका छन् ।
गत महिना मात्रै बेपत्ता पारिएका बाँकेका भुपेन्द्रराज उप्रेतीका श्रीमती चन्द्रकला उप्रेती पनि यसै गरि कुशको शव बनाई पशुपति आर्यघाटमा अन्तेष्टि गरि क्रिया बसेकी थिइन् ।
क्रियामा बसेकी बेपत्ता हुकुम बहादुर शाहीको श्रीमती जयन्ती शाहीले माओवादी अध्यक्ष प्रचण्ड दुई दुई पटक प्रधानमन्त्री हुँदा समेत श्रीमानको अवस्था थाहा पाउन नसक्दा दुख लागेको बताइन् । ‘यतिका बर्ष कुरियो, घरपरिवार, धर्म, समाजका कुरा पनि मान्नु पर्ने रहेछ । धार्मिक परम्परा अनुसार काजक्रिया नगरे मृतआत्मा भड्कन्छ भन्छन् । एक मनले श्रीमान अझै जीवितै हुनुहन्छ की भन्ने जस्तो लाग्छ । टुप्लुक्क घर आउँनुहुन्छ कि भन्ने लाग्छ । तर यसरी कतिन्जेल कुर्ने । सरकारले हामी जस्ता पीडितको पीडा बुझेन । परिवार, समाजको दवाव भयो । मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरे,’ क्रियामा रहेकी जयन्तीले पीडा पोखिन् ।
छोरा आउने आशमा रहेकी हुकुम बहादुरकी बृद्ध आमा लक्ष्मी शाही, छोरा शन्तोष शाही, बुहारी पुजा चन्द, छोरीहरू भबिसरा शाही र पुजा शाही शोकमा छन् । परिवारमा सन्नाटा छ । क्रिया बसेका घरमा खासै चहलपहल पनि छैन ।
यसैबीच काजक्रियामा बसेका परिवारलाई भेट्न एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम सहित अधिकारकर्मीको टोली पीडित परिवारको घर पुगेको छ । द्वन्द्व पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्दकला उप्रेती, बाँके जिल्ला अध्यक्ष उषा दाहाल, सदस्यहरू लक्ष्मी बिष्ट र बिनिता चौधरी पीडित परिवारको घर पुगि न्यायिक अभियानमा एक्यवद्धता प्रकट गरेका थिए ।
दुःखद् घडिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनेर कामना गर्न र न्यायिक अभियानमा ऐक्यवद्धता प्रकट गर्न पीडित परिवारलाई भेट्न गएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतमले बताए ।
बृहत शान्ति सम्झौता पछिका सरकारहरूले शाही जस्ता बेपत्ता पारिएकाहरूको अवस्था पत्ता लगाउन र बेपत्ता परिवारलाई न्यायको प्रत्याभूति दिलाउन नसकेको गौतमको भनाइ छ । जवरजस्ती बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिकरण गर्नमा भएको ढिलाईले जयन्ती शाही जस्तै वेपत्ता परिवारको धािर्मक तथा सास्कृतिक अधिकारको पनि हनन् भएको छ । राज्यको उदासिनताको वावजुद पीडित परिवार आशा र निराशाका बिचमा न्यायको लामो संघर्ष गर्दै आएकाले सरकार जिम्मेवार भई पीडित परिवारको सत्य न्याय र परिपुरणको अधिकार सुनिश्चित गरिनु पर्नेमा गौतमले जोड दिए ।
द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ता पारिएकाहरूको अवस्था थाहा नपाउँदा आफुहरू रातदिन मानसिक पीडामा बस्न बाध्य भएको बताउदै पीडितलाई तत्काल न्यायको प्रत्याभुति दिलाउन माग गरिन् ।
परिवार, समाजले सामाजिक, सांस्कृतिक रूपमा अन्तिम संस्कार गर्न दवाव दिएको र घर परिवारका कुनै घटना भए क्रिया नगरेकै कारण भएको भन्ने भ्रम पर्न गएकाले पनि क्रिया गर्न बाध्य भएको श्रीमती जयन्ती शाहीको भनाइ छ ।
लामो समय द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको बारेमा सरकारको गैर जवाफदेहिताका कारण सृजित परिवार, सामाजिक, सांस्कृतिक, कानुनी समस्याका कारण बर्दियामा जयन्ती शाही जस्तै बेपत्ता पारिएका पत्नीले अन्तिम संस्कार गर्न बाध्य भइरहेका छन् । यस अघि बर्दियाकै जुना सापकोटा लगायतले यसै गरि कुशको शव बनाई अत्यष्टि गरेका थिए । सशस्त्र द्वन्द्वका क्रममा बर्दिया जिल्लामा सबैभन्दा बढी नागरिकलाई बलपुर्वक बेपत्ता पारिएको थियो । बर्दियामा द्वन्द्वरत पक्षबाट २ सय ५० बढी ब्यक्तिहरू बेपत्ता पारिएका छन् ।































