पोलियो निवारण गर्न ‘आइपिभी’ खोप अभियान

पोलियो रोगविरुद्ध खोप लगाउन छुटेकाले अब खोप लगाउन पाउने भएका छन् । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनको तयारी सरकारले गरेको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिएका छन् । उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

खोप अभियान अन्तर्गत विभिन्न जिल्लामा तयारी भैरहेको छ । जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय तह खोप अभियानमा जुटेका छन् । खोप अभियान अन्तर्गत बाँकेमा पनि जेठ १३ बाट पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

स्वास्थ्य कार्यालय बाँकेले बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै खोपको महत्वबारे जानकारी दिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले खोप लगाउन नपाएका बालबालिकालाई लक्षित गरेर स्थानीय तहमा कार्यक्रम गराएरै खोप वितरण गर्न लागेको जानकारी दिए । पोलियो रोगका विरुद्धमा पोलियो नियन्त्रणमा खोप नै प्रभावकारी भएकाले खोप लगाउनका लागि स्वास्थ्य कार्यालय बाँकेले अन्तरक्रियामा अनुरोध गरेको छ ।

पोलियो रोगका विरुद्ध दुई प्रकारका खोप लगाउनु पर्ने अवस्था रहेको छ । जसमा मुखबाट खुवाइने पोलियो खोप (ओ.पि.भी) र सुईबाट दिइने खोप(आई.भि.पि) रहेका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर मेडिकल कलेजका डाक्टर रेगन बहादुर रानाले कुनै खोप लगाउँदा सामान्य किसिमको केही परिर्वतन आउने हँुदा यसबाट आत्तिनहाल्न अनुरोध गरे । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख खगेन्द्र रिजालले आफुले बाँकेका पहिलो पटक प्रशासनको जिम्मेवारी सम्हालेको अवस्थामा बाँकेको शान्ति सुरक्षा तथा स्वास्थ्यका विषयमा आफु निकै गम्भीर रहने बताए ।

नेपालगन्जमा उपमहा–नगरपालिका नगर प्रमुख प्रशान्त विष्टले बाँके शिशु मृत्युदरमा पहिलो नम्बरमा भएको अवस्था यस्ता प्रकारका कार्यकार्यले थप सहयोग गर्ने बताउँदै नेपालगन्जमा उपमाहानगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाएका थिए ।

यसैगरी जिल्ला समन्वय समिति बाँकेका सभापति योगेन्द्र चौधरीले खोप कार्यक्रमलाई सफल बनाउनका निम्ति जिल्ला समन्वय समितिको भूमिकामा कुनै कमी हुन नदिने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका नरेशबाबु श्रेष्ठले खोप कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताउँदै भने, ‘विद्यालय लगायतका विभिन्न स्थानमा खोपको व्यवस्था हुने भएको हँुदा खोपबाट कसैलाई पनि बञ्चित नहुन पर्ने रहेको छ ।’ श्रेष्ठले भने, ‘अन्य सम्पूर्ण तयारी पूरा भैसकेको छ, आवश्यक खोपको संख्या समेत जम्मा गर्ने काम भैरहेको छ ।’
यसैगरी स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले खोपको प्रभावकारीता लागि शिक्षक, विद्यार्थी, संचारकर्मी एवं जनप्रतिहरूको मुख्य भूमिका रहने भएको हुँदा यसमा ध्यान दिनु पर्ने बताए । आइभिपी खोप २०७३ साल बैशाख देखि २०७५ आश्विन सम्म जन्मिएका बच्चाहरूको एकीन गरी वडा अनुसार खोपको व्यवस्था गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेले जनाएको छ ।
जिल्लाले विभिन्न समयमा विभिन्न रोगको निवारणका लागि निम्ति विभिन्न खोप कार्यक्रम गदै आएको अवस्थामा बाँकेको स्थानीय तहदेखि जिल्लालाई हेर्दा खोपको प्रभावकारितामा सधै प्रश्न उठ्ने गरेको विषयमा सरोकार निकायको ध्यान जानु पर्ने देखिन्छ ।
बाँकेमा २ सय ४३ खोप केन्द्र मार्फत खोप प्रदान गरिदै छ । जसमा विद्यालयका बालबालिका ३५ हजार २ सय र विद्यालयका बाहिरका ४ सय ३६ रहेका छन् । जसमा २ सय ४३ स्वास्थ्यकर्मी र ४ सय ४६ स्वास्थकर्मी खटाइएको जिल्ला जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीलाई आइ.पि.भि खोप अभियान तथा अभिमूखिकरण तथा वकालत वैठकमा विभिन्न सरोकारवाला निकाय तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version