देशमा आजः ८ बजे ८ खबर

१. उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा उहाँले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताए ।

२. ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए ।

३. विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ ।

४. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताए । २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शनरअवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।

५. नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् ।

६. नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताएका छन् ।

७. भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

८. विश्वासको मतसम्बन्धी विषयमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नहुँदै प्रदेश सरकारले बजेटबारे पूर्वछलफल थाल्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

Exit mobile version