व्यवस्थित ‘बैकुण्ठधाम’ पहल

मृत्यु पछिको परम्परागत दाहसंस्कारका लागि व्यवस्थित घाट नहुँदा परेको समस्या समाधानका लागि थालिएको पहलले अग्रसरता लिएको छ । सत्कार्यको अग्रसरता लिएको मल्हम पट्टी मर्निङ्ग वाक ग्रुपको सहजीकरणमा राप्तीको सिधनियाघाट व्यवस्थित गरी ‘बैकुण्ठधाम’ बनाउन खोजिएको हो ।

त्यसका लागि सरोकारवालाहरूसँग भैरहेको निरन्तर छलफल, बैठक, योजना निर्माण र त्यसको कार्यान्वयन प्रक्रियामा अगाडि बढिएको मल्हमपट्टी मर्निङ्गवाक गु्रपका सदस्य डा. बद्री चापागाईले जानकारी दिए ।

डा. सुरेश कुमार कनोडियाको नेतृत्वमा रहेको मर्निङ्ग वाक गु्रपले गत महिना यसबारे बृहत छलफलको आयोजना गरी आर्थिक स्रोत सँगै योजना निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।

‘सोही निर्णयका आधारमा स्थलगत अध्ययन गरी आवश्यक जग्गाको एकिन र अवस्थाको जायजा लिन शनिबार सरोकारवालाहरूको टोलीले अध्ययन अवलोकन गरेको छ’, डा. चापागाईले दैनिक नेपालगन्जसँग भने, ‘मल्हम पट्टी मर्निङ्गवाक गु्रपका सदस्य र सरोकारका सबै सरकारी, गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू पुगेका थियौं ।’ मल्हम पट्टी मर्निङ्ग वाक गु्रपका सदस्य, अधिकारकर्मी भोला महतका अनुसार, बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि निरन्तर छलफल भैरहेको छ । ‘सबैतिरबाट यो अभियानमा सहयोगी मनहरू जोडिइरहनु भएको छ,’ शनिबार भएको छलफलले स्थलगत अवस्थाको एकीन गरेको जानकारी दिंदै महतले भने, ‘जग्गाको पहिचान र वास्तविक जमिनको क्षेत्रफल एकीन भएकाले अब योजना कार्यान्वयनले मूर्त रूप लिन्छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, सडक, सिंचाई, पुल, नापी लगायतका सरकारी निकायका अधिकारीहरू समेत स्थलगत अध्ययनका क्रममा राप्तीको सिधनियाघाट पुगेका हुन् ।
मल्हम पट्टीले बैकुण्ठधामका लागि डिपिआर निर्माण गरिरहेकाले त्यसको अन्तिम रूपपछि भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढ्ने बताइएको छ ।

Exit mobile version