देशमा आजः ८ बजे ८ खबर

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने ‘राष्ट्रिय महिला भेला’ बुधबार काठमाडौंमा सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

२. रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा बुधबारदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।

३. गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् ।

४. अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बताएका छन् ।

५. कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए ।

६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई सघाउन आग्रह गरे ।

७. दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड बुधबार बिहानदेखि सञ्चालनमा आएको हो ।

८. अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए ।

Exit mobile version