सेवा स्तरोन्नती गर्दै मेडिकल कलेज

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापन ले नेतृत्व सम्हालेपछि अस्पतालका सुधार विभिन्न कार्ययोजना अघि सारेको छ । कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजना सार्वजनिक गरिएको हो ।

सोमबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । ‘अब यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ–नयाँ उपकरणहरू थप विशेषज्ञ सेवा दिने तर्फ कम्पनीले काम अगाडि बढाएको छ’, कम्पनी सचिव श्याम कुमार शर्माले पत्रकारहरूसँग भने, ‘यसले पश्चिम नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको पहल कदमीमा नेपालगन्ज मेडिकल कलेज सुपर स्पेशियालिटी सेवामा प्रवेश गर्नेछ ।’ कम्पनीले हालै २६औं बार्षिक साधारणसभा सम्पन्न गरी खुमा अर्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । त्यससँगै कम्पनीले नेपालगन्ज शिक्षण अस्पताल सञ्चालनका लागि प्रमुख
कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा आगामी साउन महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम पनि पुनः सुरु गर्न लागिएको कम्पनी सचिव शर्माले जानकारी दिए । ‘बिडिएस, बिएमआइटी, बिएमएलटी, पीसीएल नर्सिङ्ग कोर्ष समेत सञ्चालन गरिनेछ’, एमबीबिएस, एमडी÷एमएस, बि एस्सी नर्सिङ्ग सञ्चालन गरिरहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीका कम्पनी सचिव शर्माले नयाँ कार्यक्रमहरू बारे पत्रकारहरूसँग भने । उनका अनुसार, नेपालगन्जबाट बिरामीहरूका लागि सेवा–सुविधा थप गर्दै अस्पताल स्तरोन्नती गर्न लागिएको छ । ‘क्याथल्याब सेवा सुरु हुन लागेको छ’, एमआरआइ सेवा सुरु भैसकेको जानकारी दिंदै पत्रकार सम्मेलनमा कम्पनी सचिव शर्माले भने, ‘भवानीयापुरमा आगामी साउनदेखि प्यारामेडिकल कोर्ष सञ्चालनका लागि विभिन्न पूर्वाधारहरू निर्माण कार्य अगाडि बढाइँदैछ ।’

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बिएनले भए गरेका कमी कमजोरीहरू सुधार गर्दै अस्पताललाई विशेषज्ञ सेवा प्रवाहको केन्द्रका रूपमा विकास गरिने बताए । नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल डा. अनुप शर्माले कोहलपुर स्थित शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजका रूपमा सञ्चालन गरिरहँदा स्वास्थ्य उपचारमा थप गुणस्तर वृद्धि हुने विश्वास दिलाए । ‘प्रशिक्षार्थीहरूले चेकजाँच गर्लान् भन्ने भ्रम फैलिन सक्छ, त्यसो होइन निश्चित कोर्ष पूरा गरेर चिकित्सकहरूले मात्रै स्वास्थ्य उपचारमा संलग्न हुने हो’, प्रिन्सिपल डा. शर्माले पत्रकारहरूसँग भने, ‘आगामी दिनका लागि दक्ष जनशक्ति तयार गर्नका लागि पनि शिक्षण अस्पताललाई सम्पूर्ण रूपमा मेडिकल कलेज बनाउन आवश्यक देखिएको हो ।’

शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशम बहादुर रानाले पछिल्ला बर्षहरूमा उपचारका लागि जिल्ला स्तरमै स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएपछि गुणस्तरीय सेवाका लागि मात्रै बिरामीहरू शिक्षण अस्पताल कोहलपुर आउने गरेको अनुभव सुनाए । ‘त्यसैले पनि यसलाई विशेषज्ञ सेवा प्रवाह गर्ने गरी अस्पतालको स्तरोन्नती आवश्यक देखिएको हो’, निर्देशक डा. रानाले भने, ‘पछिल्ला बर्षहरूमा गुणस्तरमा सुधारसँगै बिरामी संख्या पनि बढ्दो छ ।’
२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ्ग क्याम्पस, मेडिकल कलेज लगायतका प्रतिष्ठानहरूमा १ सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ३० नर्स, १ सय बढी प्यारामेडिकल सहित १ हजार ४ सय बढी कर्मचारी कार्यरत छन् । ‘कोहलपुरमा ५ सय २५ र नेपालगन्जमा ३ सय १५ शैय्याको अस्पताल सञ्चालनमा आएपनि बिरामी संख्या दैनिक त्यो भन्दा बढी नै सेवा दिइरहेको छ’, कम्पनी सचिव शर्माले भने ।

Exit mobile version