देशमा आजः ८ बजे ८ खबर

१. राष्ट्रियसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राखेका छन् ।

२. नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् ।

३. एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई संयमता नगुमाउन आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी ओलीप्रति मेयर शाहले टिप्पणी गरेपछि सचिव भट्टराईले मंगलबार प्रतिनिधिसभाको बैठकमा त्यसबारे बोल्दै सडक विभाग र महानगरपालिकाबीच मतभेद उत्पन्न हुँदा अध्यक्षलाई किन दोष देखाएको भन्दै प्रश्न गरेका छन् ।

४. अर्थमन्त्री वर्षमान पुनसँग अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

५. १८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

६. संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारीकै नियन्त्रणमा राख्ने गरी विधेयक ल्याइएको भन्दै संविधानविद् र सरोकारवालाले आपत्ति जनाएका छन् ।

७. सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालिएको छ । यही जेठ १३ देखि दुई सिफ्टमा चौबिसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । कुनै समस्या नआए अबको चार महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।

८. कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ ।

Exit mobile version