नेपालगन्जमा आज यस वर्षकै चिसो महसुस

नेपालगन्ज । नेपालगन्जमा आज बिहानैदेखि शीतलहर चलेको छ । आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार नेपालगन्जको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियसमा झरेको छ । लगातार चिसो बढ्दा यहाँको जनजीवन कष्टकर हुँदै गएको छ ।

चिसोका कारण बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारी साधन कम चलेका छन् । ‘हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको छ,’ नेपालगन्जका सुशील साईले भने, ‘चिसोले गर्दा घर बाहिर निस्किनै सकिएको छैन ।’ यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छुँ ।’

चिसोले गर्दा ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जानै पाएनन् । ‘चिसोले गर्दा काममा जान पाइएन,’ मजदुर जीवन विकले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ । केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’ दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका लागि जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्की ज्यामी कमला सुनारले बताइन् । ‘अत्यधिक चिसोले काममा जान पाइएन,’ उनी भन्छिन्, ‘एकदुई घन्टा घाम लागेको भए इँटा ‘लोडअनलोड’ गरेर केही पैसा कमाउन सकिन्थ्यो ।’

त्यस्तै चिसोले गर्दा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ । नेपालगन्ज विमानस्थलबाट हुने दैनिक उडानसमेत प्रभावित भएका छन् ।

Exit mobile version