दुर्घटनामा ज्यान गुमाउनेप्रति द्वीप प्रज्वलन

सडक दुर्घटनामा ज्यान गुमाउनेहरूलाई सम्झना गर्दै कसौंधन वैश्य समाज, युवा मञ्चले नेपालगन्जमा मंगलबार द्वीप प्रज्वलन गरेको छ । स्थानीय सेतु विक चोकमा समाजका विभिन्न प्रतिनिधिमूलक सहभागितामा द्वीप प्रज्वलन गरिएको हो ।
नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ्गको भालुवाङ्ग स्थित राप्ती नदीमा पुलबाट खस्दा १२ जनाको मृत्यु भएको घटनालाई लिएर समाजले श्रद्धाञ्जली सभासँगै द्वीप प्रज्वलन गरेको हो । कसौंधन वैश्य मूल समाजका अध्यक्ष सन्तोष वैश्य, निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, युवा मञ्च अध्यक्ष सञ्जय कुमार वैश्य, महिला मञ्च अध्यक्ष सरिता वैश्य, व्यापारी नेता शिव दाहाल लगायतले बोलेको कार्यक्रमको सहजीकरण युवा मञ्चका सचिव भैरव वैश्यले गरेका थिए । ‘१२ जनाको एकै साथ मृत्यु हुने गरी भएको त्यति ठूलो दुर्घटनाको कारण पत्ता लगाएर यसखालका दुर्घटना दोहोरिन नदिन दबाब दिने उद्देश्य पनि हाम्रो हो’, कसौंधन वैश्य समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले श्रद्धाञ्जली सभा बारे दैनिक नेपालगन्जसँग भने, ‘निरन्तर भैरहेका मानवीय क्षतिका भयानक घटनाहरू रोक्न सरकारी संयन्त्रहरू किन प्रभावकारी परिचालन भैरहेका छैनन् ?’ अध्यक्ष वैश्यले कार्यक्रममा सहभागीहरूले दिवंगतहरूको स्मृतिमा एक मिनेट मौन धारण समेत गरेको जानकारी दिंदै भने, ‘सबैको एउटै चासो हो, सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपर्ने गरी सुरक्षित यात्राको सुनिश्चित गरियोस् ।’

Exit mobile version