नेतृत्व विकास गर्दै जानकी

राष्ट्र निर्माणको लागि असल परिवार तथा युवाहरु’ भन्ने नाराका साथ जानकी गाउँपालिकाका युवाहरुको नेतृत्व, क्षमता विकासका लागि असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धि प्रशिक्षण शनिबारदेखि जानकी गाउँपालिकामा सुरु भएको छ ।

जानकी गाउँपालिकाको आर्थिक सहयोग र बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेको आयोजनामा युवाहरुको नेतृत्व, क्षमता विकासका लागि असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धि दुई दिने प्रशिक्षण सुरु भएको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले राष्ट्र निर्माणमा युवाहरुको धेरै नै महत्वपूर्ण भूमिका हुने भएकोले प्रशिक्षण कार्यक्रममा सहभागी सम्पूर्ण युवाहरुले राम्रोसँग ज्ञान लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेका अध्यक्ष बसन्त कुमार कनोजियाले जीवनको पहिलो खुड्किलो अर्थात प्रारम्भिक पाठशाला भनेको परिवार नै भएको बताए । “जे कुरा सिक्छौं परिवारबाट नै सिक्ने हुँदा परिवारले राम्रो बाटो सिकाएमा राम्रो बाटोतर्फ लाग्ने र नराम्रो बाटो दिएमा नराम्रो बाटोमा लाग्ने सम्भावना बढी हुन्छ’, उनले भने, ‘त्यसैले आजको विश्व परिवेशमा राष्ट्र निर्माणमा युवा शक्तिलाई लिएर अगाडि बढ्न सकेनौं भने केही पनि हुन सक्दैन ।’

प्रशिक्षण कार्यक्रममा जानकी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादवले राष्ट्र निर्माणमा युवा शक्तिलाई नै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेका अध्यक्ष कनोजियाको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन अरुण कुमार सिंहले गरेका थिए भने आयोजक संस्थाका सचिव पुरन बहादुर थारुले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेल, १ देखि ६ नम्वर वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, योजना शाखा प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाई, सूचना शाखाका प्रमुख विकास जिसी लगायत १ देखि ६ नम्वर वडाका गरी ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका तर्फबाट गाउँपालिका अध्यक्ष खाँ र उपाध्यक्ष यादवलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Exit mobile version