बाँकेमा क्यान्सरबाट जोगाउन किशोरीलाई खोप

महिलाहरूको पाठेघर मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले बाँकेमा खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठै स्थानीय तहका लागि पाठेघरको मुखको क्यान्सर विरुद्ध पहिलो र दोस्रो चरणको एचपिभी खोप अभियान संचालन गर्न लागेको सोमबार अन्तरक्रिया आयोजना गरेको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पहिलो चरण अन्तरर्गत आज मंगलबार बाँकेका आठ स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका २४ हजार ५ सय ८९ किशोरीहरूमा उक्त खोप लगाउनले लक्ष्य रहेको सुनाए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीका अनुसार, दोस्रो चरणमा माघ ३० गते राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिकामा १२ हजार ३ सय एकसठ्ठी जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

विश्व क्यान्सर दिवसको दिनबाट संचालन गर्ने एचपिभी खोप अभियान माघ २२ गते देखि फाल्गुन ०६ गते सम्मको लक्षित समुह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरू रहेका छन् ।

देशभरमा नियमिति एचपिभी खोप अन्तरर्गत ३ लाख ६२ हजार ४ सय ४७ किशोरी रहेका छन भने अभियान अन्तर्गत १३ लाख २६ हजार ३ सय २१ जना किशोरी रहेको जिल्ला जनसंख्या कार्यलय बाँकेका खोप फोकल प्रसन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले यौन सम्पर्कका माध्यमबाट भाइरस संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहेको बताए । डा.पाण्डेले पाठेघरको मुखको क्यान्सर हुनुभन्दा ८÷१० वर्ष अगाडीबाट नै शरीरमा केही परिवर्तन आउने र त्यही लक्षण अनुसार पाठेघरको मुखमा पछि क्यान्सर देखा पर्ने जानकारी दिए । कतिपय क्यान्सर रोग लागेको अन्तिम अवस्थामा थाहा पाइने भएपनि पाठेघरको मुखको क्यान्सको लक्षण अगाडी नै देखा पर्ने डा.पाण्डेले बताए ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय बाँकेको आयोजना गरिएको अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा डाक्टर पाण्डेले कुनै पनि खोपको प्रतिक्रिया हुनसक्ने बताउँदै त्यसका लागि आफुहरूले सम्पूर्ण तयार पुरा गरेको जानकारी दिए ।

बाँके जिल्लामा नियमित खोप सेवा सञ्चालनका लागि खोप सेवा प्रदानका लागि एशोधा अस्पताल, कोशी क्लिनिक, भेरी अस्पताल, एजिएमसि नेपालगन्ज र कोहलपुर स्वास्थ्य कार्यालय छनोट भएका छन् । खोप तालिम लिएका बाँके जिल्लामा १ सय ८९ जना जनशक्ति तयार गरिएको छन् भने ढुवानी तालिम लिएका ८९ जना जनशक्ति रहेका छन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था
नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्थालाई हेर्दा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पठेघरको मुखको क्यान्सर हुने गरेको तथ्याङ रहेको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।
महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रम हो राष्ट्रिय खोप कार्यक्रम,२०३४ देखि सुरु भएको र हाल १३ किसिमका खोपहरू १६ हजार भन्दा बढी खोप केन्द्रहरू मार्फत दिइदै आइएको छ । नियमिति खोप सेवाको लक्षित समुह १५ महिना उमेरसम्मका बालबालिकाहरू र गर्भवती महिलाहरू रहेको तथ्याङले जानकारी दिएको छ ।

विश्वमा पाठेघरको मुखको क्यान्सरको अवस्था
विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिललाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरीएको छ ।
सन् २०३० सम्ममा यसको संख्या बढेर ७ लाख पुग्ने अनुमान गरिएको छ । हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको मृत्यु हुने र सन् २०३० सम्ममा ४ लाख पुग्ने अनुमान गरिएको छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आएका भएका देशहरूमा देखिएको छ ।

Exit mobile version