प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट

प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना छनोट भएका छन् ।

महोत्सवका सांस्कृतिक उप–समितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच गरी १० जना फिनालेमा पुग्न सफल भएका हुन् । फिनालेमा पुग्ने कलाकारहरुमा सबैभन्दा धेरै जना युनाइटेड एजुकेशनल एकेडेमीका ३ जना ग्रीष्मा राना क्षेत्री, सुदीप परियार र स्नेह गुरुङ रहेका छन् । त्यसैगरी धर्ती विष्ट मगर गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, सुस्मिता शर्मा फ्लोरिड एकेडेमी डुडुवा ५ कम्दी, संस्कृति शर्मा जनसेवा माध्यमिक विद्यालय जानकी–३, प्राप्ती गुरुङ जेनिथ एकेडेमी खजुरा ३, सुमित्रा राना मगर ज्ञानोदय नमुना मावि खजुरा र राधा बस्नेत मोडेल एकेडेमी नेपालगन्ज १८ तेजनगर रहेका छन् ।

प्रतियोगिताको माघ ११–१५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्य प्रतियोगितामा भाग लिएका थिए । माघ १६–१८ गतेसम्म शीर्ष २० जना छनोट भए । माघ १९ र २० गते शीर्ष १४ बीच सेमिफिनाले चरणको प्रतिस्पर्धा भएकोे थियो । आगामी २२ माघमा माघमा शीर्ष १० जनाबीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने फिनालेका बाँकी ७ जनाले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामूहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिइरहेका छन् ।

खुमन अधिकारीको गीतमा नाचे दर्शक
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको ११ औं दिन आइतबार लोकप्रिय गायक खुमन अधिकारीले दर्शकलाई छमछमी नचाएका थिए । उनले आधा दर्जन बढी गीत गाएका थिए । गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहेको थियो । हुम्लाका कलाकारले कर्णाली प्रदेशको डेउडा सांंस्कृतिक प्रस्तुती दिएका थिए ।

महोत्सव सांस्कृतिक उप–समितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य, हास्य कलाकारद्वय शिवशंकर रिजाल जोगिन्दर र सुरेन्द्र केसी मुला सागको प्रस्तुती हुनेछ । प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द मेला अवधि सकिन लागिरहेकाले बाँकेवासीलाई सहभागी हुन आग्रह गर्छन् ।

Exit mobile version