गर्मी कसरी थेगोस् नेपालगन्ज ?

नेपालगन्जको गगनगन्जमा रहेको भगवान तलाउ पुरेर स्वास्थ्य केन्द्रको भवन बनाइएको छ । त्यहीँ कतिपयलाई जग्गा वितरण गरेर लालपुर्जा दिइँदैछ ।
हनुमानगढी गौशाला नजिकैको बालदा तलाउमाथि एक सय ८ फिटको हनुमानको मूर्ति निर्माण भइरहेको छ ।

अरू सानातिना तलैया र पोखरीहरू स्थानीय सरकारले नै पुरेर भौतिक संरचना निर्माण गरेका छन् । नेपालगन्जको इतिहास लेखिरहेका वरिष्ठ साहित्यकार सनत रेग्मी भन्छन्, ‘नेपालगन्जमा कयौँ तलैयाहरू थिए । जहाँ जेठको महिनामा पनि पानी भरिभराउ हुन्थ्यो । ती सबै मासिए ।’

तलाउ मात्रै कहाँ हो र ? नेपालगन्जमा अहिले ठूला रुखहरू औँलामा गन्न सकिने मात्रै बाँकी छन् । सडक बिस्तार र विभिन्न भौतिक संरचना बनाउँदा कुनै उपाय लगाएर जोगाउन सकिने पिपलका रुखहरू पनि काटिए ।

वृक्षारोपणबारे जागरण अभियान चलाइरहेका हेमन्तराज काफ्ले भन्छन्, ‘नेपालगन्जको वातावरणका लागि अतिआवश्यक विपल, वर र निमका रुखहरू सखाप पारिए । तीनको क्षतिपूर्ति सडकमा फुलका पोथ्राहरू लगाएर गर्न सकिँदैन ।’

नेपालगन्ज भौगोलिक कारणले नै गर्मी बढी हुने सहर हो । तर, मुख्य चिन्ताको विषय त्यो गर्मीबाट राहत दिने प्राकृतिक वातावरण ह्रास हुँदै जानु हो । यसवर्ष करिब एक महिनादेखि नेपालगन्जको तापक्रम ४० डिग्री माथि छ । वर्षा नहुँदा र लगातार तापक्रम उच्च रहँदा यहाँको जनजीवन कष्टकर भएको छ । वातावरणप्रति चासो राख्नेहरू नेपालगन्जमा गर्मी हुनुभन्दा बढी चिन्ताको विषय त्यो गर्मीबाट राहत दिने पर्यावरण नास हुनुलाई भन्छन् ।

रेग्मी नेपालगन्जमा हरेक तीनदेखि चार किलोमिटर भित्र आँपलगायतका फलफुलका बगैचाहरू रहेको सम्झना गर्छन् । उनका अनुसार नेपालगन्जको धम्बोझी चोक, रामलिला मैदान क्षेत्रमा रहेको बाँके बगिया, हाल जडिबुटी संघको कार्यालय रहेको ठाउँपछाडिको बगिया, सल्यानी बगिया जस्ता बगियाहरू त्यतिबेला धार्मिक आस्थाले मानिसहरू जोगाएर राखेका थिए । तर, पछिल्लो पुस्ताले ती बगियाले जोगाएको पर्यावरणभन्दा इट्टा भट्टामा बेचेपछि आउने पैँसालाई महत्वपूर्ण ठाने । सखाप पारिए ।

२०७९ जेठ ७ को कान्तिपुरमा दास्तान ए नेपालगन्ज शिर्षकको लेखमा नेपालगन्जका निमका रुखहरू कसरी नासिए भन्ने सन्दर्भमा शिवानीसिह थारु लेख्छिन्, ‘हामी काटिएका छौं, रोड चौडा बनाउन । हामी च्यापिएका छौं, चारैतिर बजार विस्तार गर्न । हामी थिचिएका छौं, भवनैभवन एकअर्कामा खापिन । हामी बेवास्ता गरिएका छौं, विस्मृत बनाइन । हामी बिर्सिइदै छौं, फेरीफेरी उम्रिन नदिन । तर, के सहर समृद्ध हुने यही एउटा मोडल हो ? नेपालगन्जजस्तो सहरले त झन् खोइ बुझेको ? यहाँको उक्लिराखेको तापक्रमको राप हामीजस्ता रूखहरूले नै कम गर्ने हुन् ।’

तर, नेपालगन्ज सहरको अभिभावक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधहरू के यसरी उकालो लागिरहेको गर्मीमा नासिएका तलैया र रुख सम्झेर प्रायश्चित गरिरहेका छन् ? उत्तर तपाईं आफै अनुमान गर्नुहोस् !

अनुमान गर्न सहजताका लागि उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको एउटा योजना थाहा पाउनुहोस् । उनले दैनिक नेपालगन्जसँग कुरा गर्दै भने, ‘हामी आगामी वर्ष कुलिंग सेन्टर बनाउँदै छौँ ।’ कस्तो कुलिंग सेन्टर ? नगर प्रमुख विष्टले भने, ‘बसपार्क जस्ता आवतजावत बढी हुने ठाउँमा चिसोमा बस्न मिल्ने ठाउँ बनाउँदै छौँ ।’ अर्थात् एसी राखेर ? उनले भने, ‘हजुर ।’

सहर रुख विहीन बनिरहँदा एसी भएको सामूहिक विश्रामगृह बनाउने धुन जनप्रतिनिधिहरूमा सवार छ । नगर प्रमुख विष्टले भन्न त भने, ‘उद्योग वाणिज्य संघसँग सहकार्य गरी वृक्षारोपण पनि गर्छौँ ।’ तर, यस्ता योजनाहरू उपमहानगरका हरेक वर्षका नीति तथा कार्यक्रममा कपि पेस्ट भएर आइरहन्छन् । तर, कार्यान्वयन तपाईँ महसुस गर्न सक्नुहुन्छ । हरित अभियन्ता काफ्ले अहिले नेपालगन्जको सुर्खेतरोडमा लगाइएका बिरुवाहरू नेपालगन्जको पर्यावरण सन्तुलनमा योगदान दिनसक्ने खालका नरहेका बताउँछन् । उनले दैनिक
नेपालगन्ज सँग भने, ‘नेपालगन्जका लागि त पिपल, वर र निम नै मुख्य विरुवाहरू हुन् ।’ उनी यही महसुस गरेर एक वर्ष भित्रमा सय वटा पिपल र सय वटा वर रोप्ने योजनामा अघि बढेका छन् । ‘सयवटा जति पिपल संकलन गरेको छुँ’, काफ्लेले भने, ‘यदि कसैसँग रुख रोप्ने ठाउँ छ भने म आफै आएर रोप्छु ।’

काफ्ले थपे, ‘तर यो एकजना हेमन्तले मात्रै गरेर पर्यावरण जोगाउन सकिने कुरा होइन । सहरवासी सबैले जति सकिन्छ रुख रोपौँ । यसलाई एक महाअभियानकै रूप दिऔँ । नभए हाम्रो अर्काे पुस्तालाई सहर बस्नलायक नरहन सक्छ ।’

Exit mobile version