विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

नेपालगन्ज विशालनगर देखि –जानकी गाउँपालिका जोड्ने सडक कालोपत्रे शुरु भएको छ  ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले स्तरोन्नतीका लागि गरेको बजेटबाट विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडक कालोपत्रे शुरु भएको हो ।

तीन महिनाअघि नेपालगन्ज– १८ का वडाध्यक्ष दीपककुमार बर्माले सडक स्तरोन्नती शुभारम्भ गरेका थिए । ‘बुधबारदेखि कालोपत्रे शुरु भएको छ,’ एक करोड बढी लगानीको सडक स्तरोन्नती यसअघि वडा नं. १८ ले आफ्नै लगानीमा पहल लिएपनि बजेट अभावले प्रभावकारी कार्यान्वयन हुन नसकेको औल्याउँदै वडाध्यक्ष बर्माले भने ।

गत बर्ष अन्तिममा आएर सरकारले पुरै बजेट कटौती गरिदिंदा रोकिएको सडकलाई निर्माण प्राथमिकतामा राखेका वडाध्यक्ष बर्माले नेपालगन्जलाई जानकीसँग जोड्ने रणनीतिक सडकका रुपमा यसलाई अघि सारेको बताउँछन् ।

एक करोड बढी बजेट स्वीकृत भई कार्ययोजना अगाडि बढिरहँदा अन्तिममा आर्थिक अभावले उक्त सडकको बजेट सरकारले कटौती गरेपछि वडा आफैले गत वर्ष १ सय ५० मिटरमात्रै कालोपत्रे गरेको थियो ।

कालोपत्रे गर्न लागिएको विशालनगर चोकदेखि जानकी गाउँपालिका जोड्ने सडकबाट गाउँलेहरू बजार आउने किनमेलदेखि आफ्ना उत्पादन बेचबिखनसम्मका लागि निकै महत्वपूर्ण छ । ५० लाख बजेटमा यस आर्थिक वर्षमा यथा सम्भव काम सकेर क्रमागत योजनामा थप बजेट ल्याउने आफ्नो तयारी सुनाउँदै वडाध्यक्ष बर्मा भन्छन्, ‘यो सडक आपतकालमा सुर्खेतरोडको वैकल्पिक रुपमा पनि काम लाग्न सक्छ ।’

Exit mobile version