महिलालाई स्टार्टअप सहयोग

बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए । उनले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको जानकारी दिए ।
ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनीहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत बितरण गरिएको थियो ।
बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रशिक्षार्थीहरूलाई प्रदान गरिएको सहयोगको अधिकतम उपयोग गर्न आग्रह गर्दै हरित व्यापार र वातावरण संरक्षण मार्फत युवा र जोखिममा परेका महिलाहरूलाई सशक्तिकरणमा सहयोग गरेकोमा प्लान नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गरे ।
नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले आत्मविश्वास र जोशका साथ आफ्नो पेशालाई आत्मनिर्भरता प्राप्त गर्न र सम्मानजनक जीवन बिताउन प्रशिक्षार्थिहरुलाई प्रोत्साहन दिए ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिसाल, रोजगार संयोजक रविन्द्र अर्याल, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, तातो हावा परियोजनाका संयोजक साजिद अलि सिद्दिकी, ग्रिन इकोनोमी परियोजनाका अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी राजापुर नगरपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेको अध्यक्षतामा स्टार्टअप सामाग्री सहयोग बितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उद्यम विकास शाखाका प्रमुख पूर्णबहादुर ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, सदस्य फिरदौस जहाँ, आयोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर सञ्जिता रिजालको उपस्थिति रहेको थियो ।
राजापुरमा अर्गानिक तरकारी खेतीका लागि ८ जना युवा महिला र गड्यौला मल उत्पादनका लागि ७ जनालाई स्टार्ट अप सामाग्री बितरण गरिएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष न्यौपानेले स्टार्टअप सहयोगले युवालाई व्यापार व्यवसायमा लाग्न प्रेरित गरेको जनाउँदै जनप्रतिनिधि र वडा कार्यालयले पनि यस्ता व्यवसायको नियमित अनुगमन र उत्प्रेरणा गर्नुपर्नेमा जोड दिए ।
सो परियोजनाले हरित रोजगारी र वातावरण संरक्षण मार्फत कमजोर युवा महिलाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

Exit mobile version