आगलागी पीडितले पाए राहत

बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ छिटईपूवामा बुधबार राती भएको आगलागी पीडितलाई बिहीबार राहत वितरण गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा पुगेको जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले आगलागी पीडितलाई नगद, भाडाकुँडा लगायतका सामाग्री वितरण गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले २७ जना पूर्ण क्षति भएको घरपरिवारलाई १५ हजार नगद र आंशिक क्षति भएका ५ घर परिवारलाई १० हजार नगदै उपलब्ध गराएको थियो ।

रेडक्रसबाट एउटा त्रिपाल, कम्बल, भाँडाकुँडाको सेट ३२ आगलागी पीडित परिवारलाई उपलब्ध गराएको रेडक्रस बाँकेका कार्यक्रम अधिकृत प्रल्हाद विश्वकर्माले जानकारी दिए ।

डुडुवा गाउँपालिकाले चिउरा, चाउचाउ, पानी र मिठाई तत्कालीन खाद्यान्न राहतका रूपमा बिहीबार ३ बजेतिर मात्रै उपलब्ध गराएको थियो । पालिकाले प्रति आगलागी पीडित परिवार नगद २ हजार समेत उपलब्ध गराएको थियो ।

Exit mobile version