बुटवल उपमहानगरः दुई अर्ब ९९ करोडबढीको बजेट सार्वजनिक

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।

उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ रु ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेश गर्नभएको हो ।

उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट रु ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संशाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताउनुभयो । उपमहानगरले वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरिएको अर्यालले बताउनुभयो । यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल ११ मा एक सय बेडको अस्पताल स्थापनाका लागि रु पाँच करोड छुट्याएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु एक करोड, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन रु एक करोड बजेट विनियोजन गरिएको पनि उल्लेख छ ।

बजेटमा बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ । शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको र शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु पाँच करोड छुट्याइएको र ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले रु २५ लाख छुट्याएको पनि अर्यालले उल्लेख गर्नुभयो ।

Exit mobile version