देशमा आजः ८ बजे ८ खबर

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

२. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन् । उनले काठमाडौंमा ‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन समग्र खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिंदै आएको बताए ।

३. सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।

४. कांग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् । उनले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् ।

५. राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने उल्लेख गरे ।

६. राष्ट्रियसभाको आइतबारको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका हुन् ।

७. जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आइतबार पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका छन् ।

८. राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् ।

Exit mobile version