गाउँले महिला नै मेसिन अपरेटर

आफै श्रमिक, आफै मालिक : उत्पादन हाम्रै नेपालको भन्नेको अवधारणाका साथ कागज उत्पादनका लागि स्थापना गरिएको एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडले शेयर सदस्यहरूलाई नै ‘मेसिन अपरेटर’ का रूपमा तयार गरेको छ ।

भारतबाट प्रशिक्षक ल्याएर तीन महिनासम्म दिइएको प्रशिक्षणपछि दर्जन बढी शेयर सदस्यहरू नै मेसिन अपरेटरका रूपमा तयार भएका हुन् । ‘ती मध्ये अधिकांस स्थानीय महिला छन्’, एक्सिलेन्टका अध्यक्ष ज्योतिलाल भण्डारीले आइतबार तालिम समापन कार्यक्रममा भने, ‘उहाँहरू सबै शेयरधनी र यस उद्योगका श्रमिक पनि हुनुहुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका ऊर्जा मन्त्री कृष्णा केसीले स्थानीय स्तरमा रोजगारी सिर्जना सँगै सीप विकासका लागि भएको यसखालको मोडेलले ग्रामीण तहसम्म आर्थिक वृद्धिदरमा सघाउने बताइन् ।

पूर्व कृषि मन्त्री प्रेम भण्डारीले स्थानीय स्तरमै कच्चा पदार्थदेखि रोजगारीसम्मको सुनिश्चितता हुने गरी खुल्ने उद्योगका लागि सरकारले सकारात्मक नीति लिनुपर्ने सुझाए ।

एक्सिलेन्टका प्रबन्ध निर्देशक राजेन्द्र चौधरीका अनुसार, उत्पादनमा गएको उद्योगले २२ बढीलाई अहिले रोजगारी दिइरहेको र उनीहरूमध्ये आधा बढीले मेसिन अपरेटर तालिम सफलतापूर्वक पूरा गरेका छन् । ‘यसले हामीलाई आत्मनिर्भर जनशक्ति तयार गर्न सहयोग पुर्याएको छ’, प्रबन्ध निर्देशक चौधरी भने ।

प्रबन्ध निर्देशक चौधरीका अनुसार, दैनिक ३ मेट्रिक टन उत्पादन लक्ष्यका साथ तत्काल ह्याण्डमेड पेपर तयार गरिरहेको एक्सिलेन्टले छिट्टै क्षमता बिस्तार गर्ने तयारीमा अगाडि बढेको छ ।

Exit mobile version