उपमहानगरका पुरानै कार्यक्रम, नयाँ छैनन् ठोस

वीरेन्द्र जैसी

नेपालगन्ज उमहानगर–पालिकाको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमको खडेरी देखियो । प्रायः कार्यक्रमहरू कि त पुरानै नीति तथा कार्यक्रमबाट हुबहु सारिएका छन् । कि त अमुर्त छन् । ठोस लक्ष्यसहितका कार्यक्रम नभै शब्दजालमा राखेर नीति तथा कार्यक्रम ल्याइएको देखिन्छ ।

आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमसँग तुलना गर्दा ४३ प्रतिशत भन्दा बढी बुँदाहरू हुबहु सारिएका छन् । उदाहरणका लागि, रोजगारीसँग सम्बन्धित ११ बुँदामध्ये ८ वटा बुँदा पुरानो नीति तथा कार्यक्रमबाट हुबहु सारिएका छन् । यसैगरी, महिला, बालबालिकातर्फका ९ मध्ये ४, शिक्षा, युवा तथा खेलकुदतर्फका १३ मध्ये ६ वटा बुँदा हुबहु छन् । बाँकी बुँदाहरू पनि ठोस लक्ष्यसहितका छैनन् । अरू त कुरै छोडौँ, नीति तथा कार्यक्रममा नगर प्रमुखको सम्बोधन पनि जस्ताको तस्तै छ शब्दशः ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएकोमा आगामी वर्षको नीति तथा कार्यक्रमको पहिलो नम्बरमा राखिएको छ, धार्मिक, साँस्कृतिक र पर्यटन सम्बन्धि नीति । यस नीतिमा नयाँ छ, भिजिट वेष्टर्न नेपाल २०८१ । यो कार्यक्रम पनि माथिल्ला सरकार र अन्य संघ संस्थासँग सहकार्य गरी सञ्चालन गरिने भनिएको छ ।

दोस्रो नम्बरमा राखिएको सुशासन, संस्थागत विकास र न्यायिक नीतिका ११ बुँदामध्ये ६ बुँदाहरू हुबहु छन् । यसमा आवधिक योजना निर्माण गर्ने विषय उल्लेख गरिएको छ ।

स्वास्थ्य सम्बन्धि नीतितर्फका १८ मध्ये ७ बुँदा हुबहु छन् । स्वास्थ्यतर्फ वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माण गर्ने कार्यक्रम राखिएको छ । यो कार्यक्रम कार्यान्वयन भएमा एक प्रभावकारी काम हुने देखिन्छ । यसैगरी ज्येष्ठ नागरिकका लागि घरघरमा गएर स्वास्थ्य जाँच गर्ने, पाठेघरको मुखको क्यान्सरको स्किृनिङ्ग गर्ने, महामारी रोगका लागि औषधि स्टकमा राख्ने जस्ता योजना समेटिएको छ ।

महिला ज्येष्ठ नागरिक र बालबालिकासँग सम्बन्धित कार्यक्रममा महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रम र ग वर्गको अपांगता भएकाहरूलाई स्वास्थ्य बीमा गर्ने कार्यक्रम नयाँ छन् ।

शिक्षा युवा तथा खेलकुदतर्फ १३ मध्ये ६ कार्यक्रम हुबहु छन् । शिक्षकहरूको क्षमता विकास गर्ने, सुपरिवेक्षण गर्ने, विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार निर्माण गर्ने र युवा क्लब गठन गर्ने उपमहानगरले भनेको छ ।

सहकारीतर्फ सहकारीप्रतिको विश्वास फर्काउने कार्यक्रम सञ्चालन गर्ने, सहकारीहरूलाई सहकारी मार्टहरू सन्चालन गर्न प्रोत्साहन गर्ने, सहकारीकर्मीको क्षमता विकास गर्ने कार्यक्रम राखिएका छन् ।

कृषि र पशुतर्फका अधिकांश कार्यक्रमहरू अमुर्त र पुरानै छन् । ठोस लक्ष्य तोकिएको छैन । तरकारी र च्याउ प्रवद्र्धन गर्ने, पुष्य खेती प्रवद्र्धन गर्ने कार्यक्रम यसमा राखिएका छन् । भूमि व्यवस्थापनतर्फ गाउँब्लकको जग्गा नक्सांकन गरी जग्गाधनी पुर्जा उपलब्ध गराइने भनिएको छ । नगरवासीहरूले अहिलेपनि गाउँब्लकको जग्गाको लालपुर्जा नपाउँदा मर्कामा परिरहेका बेला यो कार्यक्रम कार्यान्वयन भएमा उनीहरूलाई राहत पुग्ने देखिन्छ । उपमहानगरपालिकाले अब प्रदान गरिने सेवाहरूलाई पूर्णरूपमा डिजिटलाईजेशन गर्ने कार्यक्रम उल्लेख गरेको छ ।

उपमहानगरपालिकाले आगामी आवका लागि तय गरेको योजनामा नगरप्रहरीलाई प्रभावकारीरूपले परिचालन गर्ने नीति लिएको देखिन्छ । नगर प्रहरीलाई सडकपेटी हटाउने, मापदण्डविपरितका संरचना हटाउने, होटल रेष्टुराको मापदण्ड अनुमगन गराउने र ई रिक्साको व्यवस्थापनमा परिचालन गर्ने नीति उपमहानगरले तय गरेको छ ।

वन वातावरणतर्फ पनि अधिकांश पुरानै कार्यक्रम छन् । यद्धपि ताल तलैया एवं हरियाली क्षेत्रको विकास तथा संरक्षण गर्ने र हरित सहर बनाइने भनिएको छ ।

भौतिक पूर्वाधारतर्फ रिंगरोग निर्माण गर्ने र ल्याण्ड पुलिंग गर्ने वर्षाैँ पुरानो योजनालाई अहिलेपनि निरन्तरता दिइएको छ । यसमा भएको प्रगति शून्य छ । मर्मत सम्भार कोष बनाउने योजना पनि उल्लेख छ । पहिले होटलसँग सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिन समन्वय गर्ने भनिएकोमा यसपटक पेट्रोल पम्पहरूसँग यस्तो समन्वय गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । बागेश्वरी मन्दिर पूर्वको चिल्ड्रेन पार्क बनाउने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पारिएको छैन । वडास्तरीय योजना छनौट गरी कार्यान्वयन गर्ने कार्यक्रम पनि हटाइएको छ । नगर यातायात गुरुयोजनालाई शंसोधन गरी सोहीअनुसार सडक बनाइने नीति तथा कार्यक्रममा भनिएको छ ।
सामाजिक विकासतर्फ टोलस्तीरय संस्थालाई अभिमुखिकरण, गरिबसँग स्थानीय सरकार कार्यक्रममा कर्जालाई प्रभावकारी बनाउन दण्ड र पुरस्कारको नीति लिइने भनिएको छ । सामी परियोजनासँग मिलेर तीनवर्षभित्र वैदेशिक रोजगार मैत्री स्थानीय तह बनाउने र सँगै आत्मनिर्भर स्थानीय सरकार बनाउने परस्पर बाझिने शब्दावलीसहितका कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

Exit mobile version