देशमा आजः ८ बजे ८ खबर

१. दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई गोली हानी घाइते बनाएको आरोपमा पक्राउ परेर आठ वर्ष जेल बसेर छुटेका भरतपुर महानगरपालिका–२८ मेघौलीका पंकज कुमाल खाग जस्तो देखिने वस्तु बिक्री गर्न लागेको आरोपमा फेरि फक्राउ परेका छन् ।

२. सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ ।

३. गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

४. गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् ।

५. स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आठवटा कडा रोग र प्रसुति सेवामा निजी अस्पतालले बदमासी गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिँदै मन्त्री यादवले निजी अस्पतालले आठ कडा रोग र सुत्केरीको अपरेसन निःशुल्क गर्ने भनेर स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको तर बिरामीसँग रकम असुलेको गुनासो आएको बताए ।

६. मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो ।

७. नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

८. बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।

Exit mobile version