देशमा आजः ८ बजे ८ खबर

१. जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।

२. आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरीको एकैपटक सरुवा गरेको छ । सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै परिसरले २१० जनाको सरुवा गरेको हो ।

३. पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

४. जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

५. लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा बुधबार गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

६. कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो ।

७. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए ।

८. उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो ।

Exit mobile version