व्यवसायिक आँप खेतीको रकम फिर्ता हुँदै

अहिले आँपको सिजन चलेको छ । बाँकेको सहर नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरूमा विभिन्न प्रकारका आँपहरू विक्रीमा राखेको पाइन्छ । फलको राजाको रूपमा लिइने आँप खेती भने बाँकेका थोरै स्थान बाहेक व्यवसायी रूपमा गर्न सकिएको छैन । नेपाल सरकारले व्यवसायीक आँप खेती गर्ने उदेश्य लिएर कृषि ज्ञान मार्फत व्यवसायी आँप खेती गर्ने भनेर बजेट छुटइदा समेत खर्च नहुने देखिएको छ ।

बाँकेमा कुल खेती योग्य जमिनको १० हेक्टर जमिनमा व्यवसायिक आँप खेती गर्ने उद्देश्य अनुसार आँपको विरुवा सरकारले नै उपलब्ध गराउने तथा आँप लगाउने खाल्टो बनाउनका लागि प्रत्येक खाल्टो बापत रु सय रूपैया उपलब्ध गराउने व्यवस्था अनुरूप सुचना जारी गर्दा समेत कृषकहरूले व्यवसायी खेतीका लागि चासो नदिदा रकम फिर्ता जाने भएको कृषि ज्ञान केन्द्र नेपालगन्ज बताउँछ ।

तीन पटकसम्म सुचना जारी गर्दा समेत मात्रै तीन हेक्टरमा लगाउका लागि कृषकहरूको आवेदन परेकोमा तीन हेक्टरमा योजनाको उद्देश्य पुरा नहुने देखिता आएको रकम फिर्ता जाने देखिएको कृषि ज्ञान केन्द्र नेपालगन्ज बाँकेको प्रमुख मोहम्मद शलिक अहमदले जानकारी दिए । ज्ञान केन्द्रका प्रमुख अहमदले हामीसँगको कुराकानीमा भने,‘अझै केही दिन बाँकी छ तर कृषकहरूको आवेदन आउँला जस्तो लागेको छैन, रकम फिर्ता जानेमा मलाई दुख लागेको छ ,बाली नै परिर्वतन गर्नु पर्ने देखिन्छ ।’

प्रत्येक कठ्ठामा करिब पाँच हजार रूपैया खर्च आउने भएको हुदाँ समुह बनाएर व्यवसायी आँप खेती गर्न सकिने व्यवस्था भएको समेत प्रमुख अहमदको भनाइ रहेको छ । यसरी कृषि ज्ञान केन्द्र नेपालगन्जले व्यवसायी आँप खेतीका लागि जारी गरेको सुचनाका बारेमा आफुहरूलाई थहा नभएको बाँकेको डुडुवा गाउँपालिकाका कृषकहरू बताउँछन् । विगत लामो समय देखि तरकारी एवं अन्य खेती गर्दै आएका डुडुवा गाउँपालिका वडा नं.१ का धुर्व शर्माले आफु आँप खेतीका लागि निकै उत्साहित भएता पनि यस्तो प्रकारको योजना आएको बारेमा जानकारी नभएको बताए । कृषक शर्माले भने,‘मसँग पक्का चार विघा जमिन रहेको छ, यसरी सहयोग गर्ने भए व्यवसायी आँप खेती गर्नका लागि म तयार छु, मैले पाए भने एक विघामा आँपको खेती गर्न सक्छु ।’

यसैगरी डुडुवा गाउँपालिका वडा नं.२ मा बस्ने रफिक खानको समेत झोरा सामुदायिक बनको नजिकै पाँच देखि सात कठ्ठा आँप खेती गर्न तयार रहेको बताउँछन् । बजारमा बिक्रीमा राखेको आँपहरू प्रायः भारतीय कृषकहरूले उत्पादन गरेको आँप रहेका भन्ने बिक्री गर्न आएका आँप विक्रेताहरूको कुराकानीबाट थाह पाउन सकिन्छ भने आर्को तर्फ बाँकेमा आँप व्यवसायीको प्रवल सम्भावना छ भन्ने आधारमा नेपाल सरकारले व्यवसायी आँप खेती गर्न भनी बजेट समेत निकास गरेको अवस्थामा व्यवसायी आँप खेती गर्नबाट कृषक बञ्चित हुनुमा बाँकेका कृषकहरूको पहुच ज्ञान केन्द्र लगायतका संस्थाहरूको सुचनामा प्रभावकारी नभएका भन्न सकिन्छ ।

पछिल्लो समय बाँकेमा जग्गाको खण्डीकरण भएको अवस्था र विद्यालय तथा गुठीका जग्गाहरूमा लगान नपाइने कानुनी व्यवस्थाका कारण समेत व्यवसायिक आँप खेतीका लागि कृषकहरूको आकर्षण नभएको हो भन्ने शंकामा कृषी ज्ञान केन्द्र नेपालगन्ज रहेको देखिन्छ । बाँकेमा आँप लगायत उच्च तापक्रममा हुने फलफुलको सम्भावना राम्रो रहेको देखिन्छ भने आँपलाई व्यवसायी रूपमा उत्पादन गरेर यहाँका कृषकहरूको आर्थिक उन्नती गर्न सकिने देखिन्छ भने फलफुलमा भारती बजारमा आश्रित हुनु पर्ने समस्याबाट मुक्त भई ताजा र रसिला स्थानिय आँप लगायतका फलफुल उपलब्ध गराउन सकिन्छ जसको लागि कृषि ज्ञान केन्द्र मात्रै नभै सबै स्थानीय तह समेतले यस्ता विषयमा गम्भिर हुनु पर्ने देखिन्छ ।

Exit mobile version