कर तिर्न तयार छौं

बाँकेको खजुरा गाउँपालिकाका व्यवसायी बीच पालिकाले अभिमूखिकरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि व्यवसायी विच अभिमूखिकरण गरिएको हो । अभिमूखिकरणमा व्यवसायीले पालिकामा दर्ता गर्न आफुहरू तयार रहेको तर स्थानीय सरकारले अपनत्व हुनेगरी काम गर्न आवश्यक रहेको बताएका थिए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रममा व्यवसायिहरूले कर तिर्नका लागि धेरै ठाउँ धाउनुपर्ने बाध्यता हटाउन पालिकाले पहल गर्नुपर्नेमा जोड दिए ।

खजुरा क्षेत्र संम्रक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बाहिरबाट आउने व्यवसायीको निगरानी, नियन्त्रण पालिकाले राख्नुपर्नेमा जोड दिए । व्यवसायीले धेरै ठाउँका एकै शिर्षकमा कर तिर्नुपर्ने समस्यालाई समाधान गरिदिए सबै व्यवसायी खुसी खुसी गाउँपालिकामा दर्ता नविकरण गर्ने खजुरा धवलागिरीका व्यवसायी नर बहादुर खड्काले बताए ।

खजुरा गाउँपालिका वडा नम्बर ३ का खिम बरालले दर्ता पछि हुने नविकरणमा अधिक छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका वडा नम्बर ४ का गगन विकले व्यवसायीलाई वर्गिकरण गर्न पालिकाले ध्यान दिन पर्नेमा जोड दिए । खजुरा इ गाउँकी योगमाया भण्डारीले स्थानिय व्यवसायलाई प्रर्वद्धन गर्न पर्नेमा जोड दिइन् । स्थानीय स्तरमा रहेका उद्योगलाई पालिकाले नै प्रर्वद्धन गर्न आवश्यक रहेको बताइन् । व्यवसायलाई दर्ता गर्न हौसला दिने गरी पालिकाले योजना ल्याएको अध्यक्ष डम्बर बहादुर विकले बताए । अध्यक्ष विकले व्यवसाय दर्ता तथा नविकरण गर्न व्यवसायिलाई एक ढङले लैजान खोजेको उल्लेख गरे ।

स्थानीय व्यवसायको पहिचान गर्न र सुचिकृत गर्न दर्ता प्रक्रियालाई अघि बढाइएको बताए । खजुरामा कुनैपनि श्रोत नभएकोले खजुराको आन्तरिक श्रोत बढाउन सुचिकृत गरेर श्रोत बढाउने योजना बनाएको उनले बताए । खजुरा बनाउन खजुराकै जनता लाग्न आवश्यक रहेको बताउँदै अध्यक्ष विकले यसमा व्यवसायीको पूर्ण रूपमा सहयोग मिल्नेमा विश्वस्थ रहेको बताए ।

खजुरालाई व्यवसायी मैत्री बनाउन पूर्वाधार निर्माणलाई मुख्य ध्यान दिइएको अध्यक्ष विकले उल्लेख गरे । अभिमूखिकरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष धनराम वलीक्षेत्री, नेपाल घरेलु तथा साना उद्योग महासंघ खजुरा गाउँपालिका अध्यक्ष सुर्य नेपाली, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।

Exit mobile version