खाद्य स्वच्छतामा जोड

नरैनापुर गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवाला संग शनिबार अन्तरक्रिया गरिएको छ ।

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्यासित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नारासहित आयोजित अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले कार्यपत्र प्रस्तुत गर्दै खाद्य स्वच्छताको विषयमा जानकारी गराएका थिए । प्रस्तुतिकै क्रममा उनले खाद्य स्वच्छता कायम गर्न किन जरुरी छ, खाद्य स्वच्छता भएन भने मानव स्वास्थ्यमा कस्तो असर पर्छ, अस्वस्थकर अभ्यासले निम्तिने खाद्य जनित रोग र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने चर्चा गरेका थिए ।

नेपालको संबिधानमा खाद्यसम्बन्धी हक, खाद्य सम्प्रभुता रहेको कुरा जानकारी गराउँदै खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरूमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने कार्यालय प्रमुख सुमनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी माझीले कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने धारणा राखेका थिए । खाद्य निरीक्षक एकराज बुढाथोकीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन राम हरि लामिछानेले गरेका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको आतिथ्यमा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरी, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version