देशमा आजः ८ बजे ८ खबर

१. अविरल वर्षासँगै कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने अनि कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगन्ज छुटेका सयौं सवारीसाधनहरु अलपत्र परेका हुन् ।

२. नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।

३. नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए ।

४. नेपाली कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले १७ असारमा भएको कांग्रेस एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।

५. अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादनगृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् ।

६. मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।

७. हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताए ।

८. उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् ।

Exit mobile version