नेपालगन्जमा कोरा च्यालेन्जको तयारी

साइक्लिष्टहरूको महाउत्सव मानिने ‘माइ कोरा च्यालेन्ज’ यस बर्ष पनि नेपालगन्जमा भव्य रूपले आयोजना गरिने भएको छ । यस बर्ष नेपालगन्ज लगायत मुलुकका २० भन्दा बढी सहरमा साउन ५ गते एकैसाथ कोरा च्यालेन्ज २०२४ साइकल उत्सव आयोजना हुने भएको हो । त्यसको तयारीका लागि बाँके जिल्ला साइक्लिङ्ग संघले सोमबार छलफलको आयोजना गर्यो । छलफलमा सहभागीहरूले साइकल अभियानलाई भव्यता दिन र धार्मिक सद्भावको सन्देशलाई बलियो बनाउन कोरा च्यालेन्जमा बढी भन्दा बढी सहभागिताको आव्हान गरे ।

यस बर्ष देशभर नेपालगन्ज धम्बोझी स्थित साइकल पम्प ट्रयाक सञ्चालन सहयोगार्थ कोरा च्यालेन्ज गरिंदैछ । कोरा २०२४ द कज अभियानका साथ नेपालगन्जको पम्प ट्रयाकलाई कोष जुटाउने उद्देश्य राखिएको बाँके जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष गगन थापाले जानकारी दिए ।

‘यो हामी सबैको साझा आयोजना हो’, छलफलमा सहभागी नेपालगन्ज साइक्लिलिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले भने, ‘राष्ट्रिय रूपमै नेपालगन्ज पम्प ट्रयाकका लागि फण्ड राइजिङ्ग भैरहेकाले अझ बढी महत्वका साथ नेपालगन्जले सहभागिता जनाउनु पर्छ ।’

कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, बाँके जिल्ला पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, मेरो टुकी प्रज्ञालयका संस्थापक भोजराज शर्मा, साइक्लिङ्ग क्लबका चन्द्र कंडेल लगायत विभिन्न साइक्लिष्टहरूले कोरा च्यालेन्ज सफलताका लागि आ–आफ्नो तर्फबाट ऐक्यबद्धता जनाएका थिए ।

यस बर्ष बाँकेका सबै धार्मिक प्रतिष्ठानहरुको परिक्रमा गर्ने गरी एक सय किलोमिटरसम्मको कोरा
च्यालेन्ज तय गरिएको छ ।

Exit mobile version