गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले मङ्गलबार कायरोमा सिआइएका निर्देशक विलियम बर्न्ससँग भेट गर्नुभएको छ । कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे छलफल गरेका छन् । सिसीको कार्यालयले भनेको छ, “दुवै जनाले गाजा पट्टीमा युद्धविराम र युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमहरूबारे छलफल गर्नुभयो ।” ट्याङ्क र युद्धक विमानहरूद्वारा समर्थित इजराइली सेनाले सोमबार गाजा सहरमा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

मध्यस्थकर्ताहरू इजिप्ट र कतार गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतासम्म पुग्ने उद्देश्यले महिनौँदेखि वार्तामा संलग्न छन् । कुनै पनि युद्धविराम सम्झौताको पहिलो चरणमा दिगो इजराइली युद्धविराममा आफ्नो जिद्दी त्याग्न तयार रहेको सङ्केत हमासले दिएपछि हालका दिनमा वार्ता तीव्र भएको छ । इजराइली आँकडाअनुसार दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा एक हजार एक सय ९५ मानिसको मृत्यु भएको र तिनमा अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणपछि सुरु भएको युद्ध १०औँ महिनामा प्रवेश गरेको छ ।

हमासका लडाकूहरूले उक्त आक्रमणका क्रममा दुई सय ५१ जनालाई बन्धक बनाएका छन् । तीमध्ये एक सय १६ जना गाजामा रहेका छन् । सेनाका अनुसार गाजामा बन्धक बनाइएकामध्ये ४२ जना मारिएका छन् । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासविरुद्ध इजराइलको जवाफी आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ३८ हजार दुई सय ४३ जनाको मृत्यु भएको छ ।

Exit mobile version