देशकै अत्याधुनिक सिनेमा घरका रूपमा नेपालगन्जमा स्थापित सिने रोयलले स्थापनाको पहिलो बर्ष सफलतापूर्वक पूरा गरेको छ । आज शुक्रबार आफ्नो पहिलो बार्षिकोत्सव भव्य रूपले मनाउँदै गरेको सिने रोयलले दर्शकको सहज पहुँचका लागि विभिन्न प्रविधिमैत्री योजना अघि सारेको प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिए ।
‘दर्शकहरूको सहज पहुँचका लागि मोबाइल एप लन्च गर्दैछौं’, प्रबन्ध निर्देशक थापाले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘त्यस मार्फत दर्शकले आफ्नै मोबाइलबाट सजिलो गरी टिकट काट्न सक्नुहुन्छ ।’
स्थापनाको एक बर्षमा सिने रोयलले झण्डै दुई लाख दर्शकलाई सिनेमा हल भित्र्याएको जनाएको छ । ‘एक सय २० बढी सिनेमा हेर्न त्यो भन्दा बढी शोका लागि दुई लाख बढी दर्शक सिने रोयल भित्रिनु भएको छ’, पब्लिक रिलेसन अफिसर सौगात बिक्रम शाहले दैनिक नेपालगन्जसँग भने, ‘दर्शकको आकर्षणलाई ध्यान दिंदै अझ सहज पहुँचको सुविधा र अफरहरू बार्षिकोत्सवसँगै अघि सारिनेछ ।’
२५ करोड बढी लागतमा गत बर्षदेखि सञ्चालनमा आएको सिने रोयलमा ४० बढी जनशक्ति कार्यरत छन् ।