सिनेरोयलले मनायो वार्षिकोत्सव

सन्ध्या गैरे

नेपालगन्जस्थित उच्च स्तरीय सिनेमा घर सिने रोयलले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवमा विभिन्न आकर्षक योजनासहित दर्शकसँग जोडिने योजना सार्वजनिक गरेको छ ।

नेपाली सिने क्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको सिने रोयलले वार्षिकोत्सवका क्रममा आफ्नो मोबाइल एप सार्वजनिक गर्दै दर्शकका लागि अझै सजिलो सम्बन्ध स्थापित गरेको हो ।

‘टिकट खरिदमा दर्शकलाई सहज होस् भनेरै एप तयार गरिएको हो,’ विभिन्न आकर्षक प्याकेजसहितको पहिलो बार्षिकोत्सवमा सिने रोयलका निर्देशकद्वय डा. विनोद थापा र डा. कल्पना थापाले लन्च गरेको एपबारे जानकारी दिंदै सिने रोयलका चिफ मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले भने, ‘अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्ड लिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने छ ।’

सिने रोयलका सिओओ रितेश श्रेष्ठले एपमार्फत अबको एक सातासम्म सिने रोयलमा कुनै पनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहने बताए । भविष्यमा खाद्य परिकारसहित अन्य सेवामा समेत छुट दिने गरी काम अघि बढाइएको उनको भनाइ छ ।

पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञ डा. थापा डा. कल्पनाका सुपुत्र डा. राहुल थापाको परिकल्पना साकार हुँदै २५ करोडबढीको लगानीमा गतवर्ष सिने रोयल तयार भएको हो । गत बर्ष साउन ११ गते सिने रोयलले आफ्नो सेवा सुरु गरेको थियो । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमा घरको परिकल्पना गरेका डा. राहुलको भनाइलाई पनि पत्रकारमाझ डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिएको थियो । उनी भने उच्च शिक्षाका क्रममा देश बाहिर छन् ।

सिने रोयलको एक बर्षे यात्रामा हिन्दी फिल्म ‘गदर २’ सर्वाधिक आम्दानी गर्ने सिनेमा र ‘परदेशी २’ नेपाली सिनेमाहरु मध्ये सर्वाधिक कमाई गर्ने सूचीमा रहेको जानकारी दिइएको छ । नेपाली फिल्म ‘महाजात्रा’ ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमाका रुपमा आफ्नो इतिहास बनाएको सिनेरोयलले जनाएको छ । आम्दानीबारे पत्रकारसँग खुलेर कुरा गर्दै निर्देशक डा. थापाले ‘सन्तोषजनक रहेको’ बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईंले शुभकामना मन्तव्य दिए । ‘नेपाली सिनेमाबारे सिनेरोयलले नेपालगन्जमा राम्रो इम्प्रेशन दिएको छ,’ चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले भने । केक सेरेमोनीसहितको वार्षिकोत्सव कार्यक्रमको सहजीकरण पत्रकार ममता थापाले गरेकी थिइन् । सिनेरोयलमा भारतीय दर्शकपनि सीमापारिबाट आउने गरेका छन् ।

Exit mobile version