कोहलपुरमा गैरेको ‘मोहोर’ विमोचन

कोहलपुर निवासी साहित्यकार सागर गैरेद्धारा लिखित संस्मराणत्मक उपन्यास मोहोरको विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरमा आयोजित एक कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद घिमिरे, सागर गैरेका पिता घनश्याम गैरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको हातबाट उक्त उपन्यास विमोचन गरिएको हो ।

लेखक गैरेले पिता घनश्यामको जीवनवृत्तमा आधारित संस्मरणहरु समेटेर उपन्यास तयार पारेका छन् । कार्यक्रममा पुस्तकमाथि आफ्ना धारण राख्दै प्राध्यापक डा. जनार्दन आचार्यले उक्त उपन्यासमा एक सामान्य नागरिकले भोगेका अनुभवहरुको कथा भएपनि उक्त कथा उक्त समयमा सबैको कथा भएको बताए ।

प्रा.डा. गैरेले उक्त पुस्तकमार्फत तत्कालीन समाज र जनजीवन बुझ्न सघाउ मिल्ने विश्वास व्यक्त गरे ।

अर्का वक्ता साहित्यकार एवं समालोचक हरिप्रसाद तिमिल्सिनाले मोहोरमा सैद्धान्तिकरुपले औपन्यासिक शैलीमा नरहेको बताए । उनले पुस्तकको बनोटले औपन्यासिक संरचना समात्न नसकेपनि यसको विषयवस्तु पठनीय रहेको बताए ।

पूर्व प्राज्ञसभा सदस्य तिमिल्सिनाले उपन्यासमा पिताको संघर्षको कथालाई छोराले शब्द उतारेको र त्यसले दुईवटा पुस्ताबीचको संवादको महत्वलाई उजागर गरेको बताए । उनले तत्कालीन समाजका विश्वास, आर्थिक तथा समाजिक जीवन र बसाईंसराईंको कथा उपन्यासको मूल विषय रहेको बताए ।

लेखक गैरेले पिताको संघर्षको कथा लेख्ने हुटहुटीले आफूले सैद्धान्तिक कुराहरुमा त्यति ध्यान नदिएको बताए । लेखक गैरेले भने, ‘बाको अनुभुतिलाई समेटेर मैले आफ्नो लागि मोहोर लेखें । मोहोर उपन्यासको फर्म्याटमा कमैमा गणना होला तर बाको आँखामा भने परिरहनेछ । बा–आमालाई खुसी देख्ने कुरालाई मैले मोहोर लेखें ।’

कार्यक्रमको अध्यक्षता गरिरहेका हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले आमाको बारेमा धेरैले आख्यान, गैरआख्यान, गीत, कविता लेखेका औल्याउँदै सागर गैरेले बालाई प्राथमिकतामा राखेर पुस्तक लेखेको बताए ।

माया पब्लिकेशनबाट प्रकाशित उपन्यास ‘मोहोर’को मूल्य ५९५ रुपैयाँ रहेको छ ।

विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष विपी अस्तु, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलालगायतका श्रष्टा सहभागी थिए ।

Exit mobile version