नागपंचमी अवधी समुदायमा (गुडिया पर्व)

राकेशकुमार मिश्र

आज शुक्रबार साउन शुक्लपक्ष पंचमी नागपंचमी पर्व पश्चिम नेपालको तराईका जिल्लाहरुमा अवधी समुदायमा फरक तरिकाले मनाउने प्रचलन रहेको छ । अवधी समुदायमा यस पर्वलाई ‘गुडिया’ भनिन्छ । यो पर्व अवधी समुदायको मुख्य पर्वको रुपमा लिइन्छ ।

असार शुक्लपक्ष गुरुपुर्णिमादेखि बर्षातका चाड पर्वहरु शुरु हुने गर्दछन । नाग पंचमी (गुडिया) पर्वका दिन विहानै नुहाएर गाउँ टोलका सबै जनाले घरको वरिपरि गाइको गाबेरले चिन्हो तानेर मोटो लाइन बनाइने गरिन्छ । त्यसलाई गोबर चक्र भनिन्छ । यसले घरमा सर्पलाई आउनबाट रोक्ने धार्मिक विश्वास रहिआएको छ ।

यो गरिसकेपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसंगै घरको ढोकामा नागबाबाको मुर्ति अंकित नाग टाँसेर पुजा पनि गरिन्छ ।

यस दिन सबैको घरमा खाने परिकार अन्र्तगत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला, यो मुख्य परिकार हो । यो पर्वमा ससुरालमा रहेका छोरीको माईतबाट घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाई, र आवश्यक कपडा लत्तासहितको गठरी सामाथ्र्य अनुसार भाई वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधी साहित्यकार सच्चिदानन्द चौबे बताउनु हुन्छ ।

यस पर्वमा ससुरालमा रहेका छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिंग (झुला) हाल्ने गरिन्छ । युवा युवतीहरु गितसंगित गाएर पिंग खेल्ने चलन छ, भने राती सबै युवतीहरुले कपडाको गुडिया बनाएर भुईमा हाल्ने र युवाहरुले लट्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा शिवप्रसाद पाठकले बताउनुभयो ।

यस दिन सबैको घरमा मिठो मिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनाहरुलाई बोलाइ सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको अगुवा पाठकले बताउनुभयो ।

उहाँका अनुसार हामी सबै भगवानलाई देउताको रुपमा मान्ने गर्छो । सुर्य, चन्द्रमा, नदी, पृथ्बी, गाई, रुख, हावापानी, सर्प, वादल, अन्नपात, वन, जंगल, पहाड, समुन्द्र जस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता सामान मानिन्छ । सव देवरुपमा रहेका छन । यसलाई समय समयमा पुजा गर्ने गरिन्छ ।

यसैक्रममा गुडिया पर्व नाग देउताको पुजा गरेर मान्ने चलन परापुर्वकालदेखि चलिआएको छ । यसैलाई अवधी समुदायमा नागपंचमी पर्व भन्ने गरिन्छ । यस दिन जाँदुगर (मदारी)ले सर्पलाई समात्छ र घर घरमा गएर सर्प देखाउने कार्य गरेर सिधा लिने गरेको पाइन्छ ।

स्वास्थ्यको हिसाबले वर्षातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरिरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पुर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोषिलो खान) खाएर शरिरलाई बलियो बनाउने परम्परा रहेको छ ।

अवधीमा उखान छ,–‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है’ । गुडिया पर्वको धार्मिक सम्वन्ध पनि छ । भगवान कृष्णले नागलाई नाथिनु भएको थियो । र उहाँलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो ।

अवधीको एउटा उखान छ–“गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय” ? । आजको दिन गुडिया पर्वमा घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ मनाइन्छ ।

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दुध र चना खुवाउने गरिन्छ । परापुर्ब कालबाट गुडिया र होली पर्व एकै दिन (बार) मा पर्ने गर्दछन ।

यसैले भन्ने गरिन्छ–‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सदभाव, शान्ति, भाईचारा कयम गर्ने पर्वको रुपमा लिइएको छ । यो पर्वले सामाजिक सन्देश दिने गर्दछ ।
––––

Exit mobile version