देशमा आजः ८ बजे ८ खबर

  1. सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकी सचेतक सुनिता बरालले नेपालमा हवाई दुर्घटनाको कारण प्राविधिक विषयलाई देखाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका निकायका अधिकारी उम्किन नमिल्ने बताएकी छन् ।
  2. रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनले बुझेका हुन् ।
  3. प्रधानसेनापति प्रभुराम शर्मा तीन वर्षे कार्यकाल सकिनु एक महिनाअघि शुक्रबारबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार बिहीबार शर्माको अन्तिम कार्यालय दिन हो ।
  4. एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।
  5. काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाकाले बिहीबार नगदसहित सम्मान गरेको छ ।
  6. कतार एयरवेजको विमानबाट बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको छ ।
  7. उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका छन् ।
  8. प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट बिहीबार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।
Exit mobile version