बाँके : लिजा कसले कति अंक पाए ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको लिजाको नतिजा गुणस्तर परीक्षण नतिजा सार्वजनिक गरेको छ । जस अनुसार, बाँकेमा सबैभन्दा बढी अंक डुडुवा गाउँपालिकाले प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९–०८० को लिजाको नतिजा गुणस्तर परीक्षण क्रममा बाँकेका आठ स्थानीय तह मध्ये डुडुवा गाउँपालिकाले ८५ अंक प्राप्त गरेको छ । कोहलपुर नगरपालिकाले ८१ अंक, खजुरा गाउँपालिकाले ७७.५० अंक, जानकी गाउँपालिकाले ७६.५० अंक, बैजनाथ गाउँपालिकाले ७३.२५ अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको नतिजामा उल्लेख छ ।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकाले ७०.५० अंक, नरैनापुर गाउँपालिकाले ६७.२५ अंक, नेपालगन्ज उपमहानगरपालिकाले ६४.७५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको लागि तय भएका विभिन्न दश वटा क्षेत्रका १०० वटा सूचकमा आधारित भएर नीति तथा कार्यक्रम, गाउँसभा तथा कार्यपालिका बैठक सञ्चालन, विभिन्न कार्यक्रम सञ्चालन लगायतका क्रियाकलापहरुमा समन्वयात्मक किसिमले कार्ययोजना सहित कार्य सम्पादन गरेमा उत्कृष्ठ नजिता र अपेक्षित उपलब्धी हासिल गर्न सकिने स्थानीय तहका कर्मचारी बताउँछन् ।

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिजाको गुणस्तर परीक्षणको क्रममा उत्कृष्ट तीन नगरपालिका र तीन गाउँपालिकालाई सम्मान गरेको छ । लिजाको नतिजा गुणस्तर परीक्षणको क्रममा देशभर नगरपालिकातर्फ धादिङको निलकण्ठ नगरपालिकाले ९२.५० प्रतिशत अंक प्राप्त गर्दै प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९२.०० प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चितवनको रत्ननगर नगरपालिकाले ९१.५० प्रतिशत अंक प्राप्त गर्दै तेस्रो भएको उल्लेख छ ।

गाउँपालिकातर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले ८७.०० अंक प्राप्त गर्दै दोस्रो भएका हुन् ।

Exit mobile version