त्यो पहिलो महिनावारी…

Cramps period. Menstruation days vector illustration, lady periodical abdomen pain dates, girls calendar periodic menstrual time, women menstruating health cycle, woman emotional agenda image

मधु शाही

“ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।” निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधँै झैँ खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलँे । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो ।

कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजँे । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजँे । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पु¥याएर कानमा फुसफुसाएँ, “दिदी सारै पेट दुख्यो !” उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो । मानौँ कुनै गहिरो सपना देख्दादेख्दै ब्युझिनु भए जस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा लाउनुभयो । सेतो लुगा भिजेर निथ्रुक्कै थियो नै । ओच्छ्यानसमेत राताम्मै भयो । दिदी चिच्याउँदै आमा बोलाउनुभयो ।

के भयो ? किन यति आत्तिएको मैले केही पत्तो पाइनँ । सुरुवाल र ओच्छ्यानभरि रगत देखेपछि भने मनमा डर लाग्यो । केको डर त्यो पनि थाहा थिएन । आमा आएपछि दिदीले हस्याङ्फस्याङ गर्दै एउटा शब्द भन्नुभयो, “बहिनी त पन्छी (महिनावारी) छ ।”

पन्छिनु अर्थात् महिनावारी हुनु । महिनावारीका थुप्रै ठाउँअनुसारका फरक–फरक बोलीचालीका शब्दहरु छन् । सुदूरपश्चिममा छाउपडी, पश्चिमतिर पन्छिनु, पाखा लाग्नु, पर सर्नु, छुई हुनु आदि । १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ । भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण । स्कूल जान नपाउँदाको दुखेसो । साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा । यी सबै घाउ सजिलै हराउँदैनन् ।

त्यो दिन सम्झना छ । बिहानीपख ओच्छ्यानमा पहिलोपटक महिनावारी भएकी थिएँ । दिदीले आफ्नो कुर्थाको सल ल्याएर आमालाई दिनुभयो । आमाले पूरै बेहुलीलाई घुम्टोले छोपे जस्तै गरी ढपक्कै लुकाएर घर बाहिर निकाल्नुभयो । कहाँ राख्ने त यसलाई ? दिदी र आमाले सल्लाह गरेर छिमेकीको गोठमाथि थारोमा राख्ने टुङ्गो लाउनुभयो । उहाँहरुको मप्रतिको अनौठो व्यवहार देखेर म रुन थालेछु । अत्तालिएर घुम्टोभित्रैबाट सुकसुकाउँदै आमालाई सोधेँ, “मलाई के भएको हो र ? कहाँ लैजाने ? म घरमै बस्न किन नपाउने ?” यस्ता थुप्रै प्रश्नहरु अनवरत सोधिरहेँ । उत्तर समग्रमा एउटै आयो, “अब तँ ठूली भइस् । यत्ति बुझ् ।”

गोठमा २१ रात माघको चिसोयाम । कुहिरोले मौसम गुम्सुम थियो । उसैगरी म सलभित्र खुम्चिएकी थिएँ । जतिसक्दो कोठामा लुकाउने हतार थियो । घामको झुल्का नउदाउँदै नजरबन्दमा राख्नुपर्ने थियो । दिदी र आमाले छिमेकीको गोठमा पु¥याउनुभयो । रातो माटोले लिपेको गोठको माथिल्ल्लो तलामा ओच्छ्यान लगाएर तयार पार्नुभएको रहेछ आमाले । “थुपुक्क यहीँ बस्नु”, उहाँले निर्देशन दिँदै के गर्न हुने के गर्न नहुने नियम बुझाउन थाल्नुभयो, “बाहिर हेर्दै नहेर्नु, भाइले बोलायो भने नबोल्नु । अनि सकेसम्म कान थुनेर बस्नु ।”

फुर्के जामा लगाएर खेतका कान्ला, खोला नाला कुद्ने ममा अचनाक न सुन्नु, नदेख्नु, नबोल्नु जस्ता ‘न’ नियम आइप¥यो । चरा जस्तै उड्ने बालापनमा यी सबै न नियम लाग्दा सजिलो हुने कुरै थिएन, अझै बढी पीडा स्कूल जान नपाउनु थियो । कक्षा ५ मा पढ्थेँ त्यो बेला । स्कुलमा त्यो दिन मेरो सेरोफेरो विषय पढाउने टेकराज सरले सही उत्तर दिने विद्यार्थीलाई पुरस्कार दिने वाचा गर्नुभएको थियो । पढेकी भए पनि उत्तर दिने अवसर महिनावारी भएकै कारण गुमाएकामा मनमनै दुखी थिएँ । मेरो पढाइ निरन्तर २१ दिनसम्म गुमिरह्यो । भारतबाट एक वर्षपछि बुबा घर आउनुभएको थियो । त्यसै दिन भैरवस्थान देवताको पूजा गरेर घरमा उत्सव बनाइएको थियो । चामलको पीठोले बनाइने भैरवस्थान मन्दिरमा चढाएको रोटी मलाई निकै मन पथ्र्यो । आमाले अरू बेला सधँै अरू दिदी भाइलाई भन्दा अलि बढी खान दिनुहुन्थ्यो । महिनावारी गोठमा बसेको पाँच दिन कष्टकर बिताउँदै थिएँ । भैरवस्थान मन्दिरमा पूजा हुँदैछ र बुबा आउँदै हुनुहन्छ भन्ने हर्षले मनमनै गद्गद् थिएँ । आमाले खाना पु¥याउन आउँदा सुनाउनुहुन्थ्यो, “बुबा साता दिन मात्रै बस्ने रे । अनि तैँले भैरवस्थानको प्रसाद खानु हुँदैन पाप लाग्छ, म अचम्मै परेँ ।”

२२ दिनपछि स्कूल पुग्दा झिसमिसे बिहानै कठ्याङ्ग्रिँदो जाडोमा थरथर काँप्दै कुलामा नुहाउन पुगँे । कमजोर शरीरले रिङ्गाटा लागिरहेको हुन्थ्यो । बिहान ५ बजे कसैले नदेख्दै नुहाउनुपर्ने थियो । म आतुर थिएँ, २१ दिनपछि घामको उज्यालो देख्न । आतुर थिएँ, आकाशे रङ्को सर्ट र नीलो जामा लगाएर स्कूल जान । भाइसँग लडीबुडी गरी खेल्न, साथीभाइसँग गफिन् । गोठबासदेखि उन्मुक्त भएर सुर्के झोला बोकेर खुसी हुँदै स्कूल पुगेँ । त्यो पारिलो घामसँग रमाउँदै, फुर्किंदै स्कूलको ढोकानिर टेकैँ ।


धेरै समयपछि आएर होला विद्यालय नौलो लाग्यो । त्यति मात्रै होइन, साथीभाइले गर्ने व्यवहार पनि फरक पाएँ । कोही मलाई हेर्दै कानेखुसी गर्थे त कोही तलदेखि माथिसम्मै नियाल्थे । मानौँ म २१ दिनमा अर्कै भएकी छु । कुनै पनि किशोरी लामो समयको अन्तरालपछि स्कूल आइनँ भने उसलाई महिनावारी भएकै संज्ञा दिइन्थ्यो र लाज, घृणा र जिस्क्याउने पात्रका रुपमा व्यवहार गरिन्थ्यो । केटाहरुले त खुलेयाम भन्ने गर्थे, “यो केटी त नछुने भइछ ।” यस्तो अवस्थामा केटीहरुमा मानसिक रुपमा हीनताबोध हुने गथ्र्याे । प्रतिकार गर्ने आँट थिएन । लाज ले रातोपिरो हुनुबाहेक अरू उपाय केही हुँदैन थियो । महिनावारी भएकै कारण विद्यालयमा पढाइको मर्का खेप्नु त छँदैछ, स्कूलमा गरिने बुलिङ (जिस्क्याउने) प्रवृत्तिले कतिपय छात्रा विद्यालय नै छोड्ने गर्थे । २२ दिनपछि खुसी हुँदै स्कूल पुगेकी म पछिल्लो बेन्चको कुनामा रुँदै बसेँ । झन्डै ३० वर्षअघि मैले महिनावारी हुँदा खेप्नु परेको पीडा मेरा बहिनीहरुलाई भोग्नु परेन ।

महिनावारीमा विभेद हुँदा पर्ने असर महिनावारीले किशोरीमा पार्ने मनोवैज्ञानिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतमा पर्ने असर असीमित हुन्छ । मर्यादित महिनावारीको संस्कार बसाल्न सके छोरीको व्यक्तित्व विकासमा सघाउँछ । विद्यालयमा मर्यादित महिनावारीको शिक्षा नपुगेसम्म धेरै छात्राको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने मर्यादित महिनावारी अभियान संस्था राधा पौडेल फाउन्डेसनको अध्ययनको निष्कर्ष छ । सरकारले छाउपडीविरुद्धको ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ जारी छ । फाउन्डेसनले काठमाडौँ, जुम्ला र सर्लाही गरी १८ देखि २५ वर्ष उमेर समूहका चार सय ७१ जनामा गरेको एक अध्ययनमा महिनावारीका कारण छात्रा विभेद, यौन हिंसामा परेको तथ्याङ्क छ । ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ विषयक आधारभूत सर्वेक्षण प्रतिवेदनमा महिनावारी हुँदा ५२ प्रतिशत छात्राको पठनपाठन प्रभावित हुने देखाएको हो ।

त्यसैगरी, १३ प्रतिशत छात्राले विद्यालयमा विभेद भोग्नु परेको बताएका छन्भने नौ प्रतिशत छात्राहरू महिनावारीकै कारण यौन हिंसामा परेको जनाइएको छ । संविधानसभा सदस्य डा बिन्दा पाण्डेले छाउपडी कुप्रथासँग सम्बन्धित बाजुरा–बूढीनन्दा, हिमाली र स्वामीकार्तिक खापर गरी तीन पालिकाका एक सयजनामा गरिएको सर्वेक्षणमा छाउगोठमा बस्ने ५२ प्रतिशत, छाउघरमा बस्ने २३ प्रतिशत, भुइँतलामा बस्ने १८ प्रतिशत र आफ्नै कोठामा सात प्रतिशत बस्ने गरेको तथ्याङ्क छ । छाउगोठमा बस्दा एक्लै सुत्ने महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको छ । सर्वेक्षणमा महिनावारीको बेला दालभात, रोटी खाने ६१ प्रतिशत छन्भने फलफूल खान पाउने मात्रै १० प्रतिशत छन् । छाउगोठमा बसेकै कारण ५२ प्रतिशतले सामाजिक र सांस्कृतिक कार्यक्रममा असंलग्न हुन नदिने तथ्याङ्क छ । “महिनावारी महिलाको प्राकृतिक अधिकार हो पाप होइन,” डा पाण्डे भन्नुहुन्छ, “यो कुप्रथा हटाउन सांस्कृतिक र राजनीतिक दुवै पाटोमा समेत जागरण ल्याउन जरुरी छ ।”

Exit mobile version