देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।
  2. कर्मचारी संचय कोषलाई संचयकर्ता आकर्षित हुने गरी काम गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । कर्मचारी संचय कोषसँगको छलफलमा मंगलबार अर्थमन्त्री पौडेलले संचयकर्तालाई नोक्सानीका आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
  3. सत्तारुढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् । उनलाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
  4. नेपाल पत्रकार महासंघ दाङले प्रकाशन गरेको पुस्तक ‘मिडिया मन्थन’ को मंगलबार घोराहीमा विमोचन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफूहरू सक्किन होइन, सच्चिन चाहेको बताएका छन् ।
  5. यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमरजेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेश मन्त्रालय अन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवराज रिजालले जानकारी दिएका छन् ।
  6. अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिए ।
  7. सशस्त्र युद्धमा बेपत्ता भएकी मोरङको पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको २२ वर्षपछि काजकिरिया गरिएको छ ।
    २३ वर्षको उमेरमा १७ भदौ २०५९ मा बेपत्ता भएकी उनको हालै जिल्ला अदालत मोरङले मृत्युको न्यायिक घोषणा गरेपछि परिवारले काजकिरिया गरेको हो ।
  8. रुकुम पश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चारवटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति सुरु गरिएको हो ।
Exit mobile version