व्यवसायीले भने, ‘खुल्ला सीमा नै समस्या’

इलेक्ट्रिकल व्यवसायीहरूले खुला सीमाना र त्यसको नियमन राज्यले नगरिदिंदा व्यवसायी धराशयी भएको बताएका छन् । शनिबार नेपालगन्जमा आयोजित नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनको नवौं र दशौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनका वक्ता तथा सहभागीहरूले उपभोक्तामा रहेको सस्तोको भ्रम तथा खुला सीमाका कारण बिना भन्सार भित्रिने मालसामानले भन्सार तथा राजश्व तिरी व्यवसाय गर्ने व्यवसायीहरू धराशयी भएको बताएका हुन् ।

कार्यक्रमका सहभागी व्यवसायीहरूले सीमापारीकै सरदर मूल्यमा नेपाली बजारमा मालसामान पाइने भएपछि उपभोक्ताहरू सिधै सीमापारी पुग्ने र बिना भन्सार मालसामान ल्याउने गरेको बताए । ‘भन्सार कडाई नै भएन, कर तिर्नेले तिरिरहेको छ, भन्सार छल्नेले छलिरहेको छ’, उनीहरू भन्छन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले खुला नाका व्यवस्थापन नगर्दासम्म नेपालगन्जका छापा हान्न नदिने बताएका छन् । उद्योगमन्त्रीसँगको भेट उल्लेखमा बार्षिक ४ हजार छापा हान्ने काम हुने जानकारी पाएको उल्लेख गर्दै नेपालगन्जमा छापा हान्न नदिने कुरा बताएको अध्यक्ष धामीले बताए । १ हजार ७ सय किलोमिटर खुला सीमा व्यवस्थापन नगर्दासम्म देशको भविष्य खोज्ने नेतृत्वलाई छुट नहुने उनको भनाइ थियो । ‘जबसम्म खुला सीमानालाई सही व्यवस्थापन गर्न सकिंदैन, सही व्यवस्थापन हुँदैन तबसम्म नेपालगन्जमा छापा हान्न दिइँदैन, त्यसको विरुद्धमा रहनेछौं’, अध्यक्ष धामीले भने ।

नेपालगन्जमा मात्रै इलेक्ट्रिकल व्यवसायमा ४० देखि ५० करोड लगानीको अनुमान छ । नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनका नवनिर्वाचित अध्यक्ष दामोदर सापकोटाले रूपैडिहा पुगेर उपभोक्ताले बिना भन्सार सामान लिएर आउँदा नेपालगन्जको इलेक्ट्रिकल व्यवसायमा नोक्सान भैरहेको बताए । ‘उपभोक्ता सचेत नहुँदा पनि समस्या हो, अर्को नियामक निकायले नियमन नगर्दा’, उनले भने । एशोसिएसनका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायिक क्षेत्रका अगुवाहरूले आ–आफ्नो धारणा राखेका थिए ।

सापकोटाको नेतृत्वमा एशोसिएसन

नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनको नवौं र दशौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले दामोदर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष शिवराज बर्मा, सचिवमा अशोक बाबु दाहाल, कोषाध्यक्षमा महबुब अहमद कुरैशी, सहसचिवमा बुद्धि बहादुर ओली रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा राम कुमार प्रसाईं, अब्दुल वाहिद अन्सारी (बब्लु), मदनलाल जिसी, नविन घिमिरे, अंकित अग्रवाल, विकास भट्टराई , रविन्द्र गिरी रहेका छन् ।

Exit mobile version