देशमा आजः ८ बजे ८ खबर

  1. सरकारले सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने तयारी गरेको छ । सरकारी अधिकारीहरुले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फाइल मुभमेन्ट ट्र्याकिङ सिस्टम’ नामक प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।
  2. गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् ।
    आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।
  3. राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ ।
  4. ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर मजदुरहरू तोडफोडमा उत्रिएपछि रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।
  5. लोथर खोलामा पक्की पुल नबन्दा राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दाले वर्षायाममा कष्ट व्यहोर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–११ र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखन्डेको बीचमा पर्ने लोथर खोलामा पुल नबन्दा वर्षायाममा सवारी साधन आउजाउ गर्न समस्या भएको हो ।
  6. लगातार दुई दिनसम्म परेको हावाहुरीसहितको वर्षाले बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क, बस्नेउरा, दुरुमखोला, भदाँले र चौरका किसानले बारीमा लगाएको मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्दै गरेको मकैका बोटलाई हावाहुरीले ढलाएपछि मकैबालीमा क्षति पुगेको हो ।
  7. नेपालले आईसीसी विश्वकप लिग–२ अघि अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ ।
    नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने अमेरिकी पत्रर पिटर डेला पेनाले जनाएका छन् ।
  8. प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।
    सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।
Exit mobile version