दौड संस्कृतिको विकास पहल

बाँकेमा दौड संस्कृति स्थापना पहल थालिएको छ । त्यसका लागि धारा नेपालगन्ज म्याराथनको दशौं संस्कारण तयारीका क्रममा पूर्वाभ्यास थालिएको हो ।

पछिल्लो एक दशक धारा नेपालगन्ज म्याराथन दौड इभेन्ट स्थापना गर्न सफल देखिएपछि जिल्लामा दौड संस्कृतिको सुनिश्चितता खोजिएको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीको भनाइ छ ।

‘त्यसका लागि आधारभूत तहमै केही अभियान चाल्दैछौं’, मंगलबार धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण पूर्व तयारीका क्रममा आयोजना गरिने रात्री दौड घोषणाका लागि गरिएको पत्रकार सम्मेलनमा संस्थापक÷अध्यक्ष ठकुरीले भने, ‘रनिङ्ग कल्चर डेभलपमेन्टका लागि असोज ५ गतेदेखि बर्षैभरी हरेक शनिबार साप्ताहिक दौड अभियान चलाउँदै छौं ।’

अध्यक्ष ठकुरीका अनुसार, पहिलो चरणमा नेपालगन्जको वाटरपार्क, कोहलपुरको दश विगाह मैदान र खजुराको शुक्र स्टेडियमलाई केन्द्र बनाएर हरेक शनिबार दौड अभ्यास गराइँदैछ । ‘त्यसका लागि राष्ट्रिय खेलकुदका पूर्व मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले नेतृत्व गर्ने गरी तीन वटै केन्द्रमा सहभागीहरूलाई प्रशिक्षण, अनुगमन, निगरानी र अभिमूखिकरण मात्रै होइन निरन्तर पुरस्कृत समेत गरिनेछ,’ ठकुरीले भने, ‘सय हप्ता पूरा गर्ने एक जना सहभागीलाई अन्तर्राष्ट्रिय दौड कार्यक्रममा एक्सपोजरको भिजिट अपरच्युनिटी क्रियट गरिनेछ ।’

तीन वटै केन्द्रमा अनुभवी नेतृत्वले सबै दौडको कमाण्ड सम्हाल्ने जानकारी दिंदै अध्यक्ष ठकुरीले साप्ताहिक दौडसँगै विद्यालय स्तरमा पुगेर दौडको आवश्यकता, असर र प्रभावकारिताबारे नियमित अभिमूखिकरणको योजना समेत रहेको सुनाए ।

आगामी मंसिर २२ गते शनिबार धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण आयोजना गरिंदैछ । त्यसको तयारीमा जुटेको आयोजक क्रियटिभ ह्याण्डस्ले ‘दशौंमा दश इभेन्ट’ घोषणा गरी संविधान दिवस भोलि बिहीबार देखि तयारीका विभिन्न अगाडि बढाउँदैछ । त्यसका लागि बिहीबार संविधान दिवस पारेर दश किलोमिटर रात्रीदौड आयोजना गरेको आयोजकले यसलाई ‘प्रि इभेन्ट’ भनेको छ ।

नेपालमै पहिलो पटक यसरी रात्रीकालीन दौडको आयोजना गरिएको दाबी गर्दै आयोजकले त्यसका लागि युथ ओलम्पिक एम्बेसेडर चाहना शाहलाई इभेन्ट संयोजनको जिम्मा दिएको जनाएको छ । शाहको नेतृत्वमा स्कुल, कलेजमा ‘लेक्चर सिरिज’ समेत गरिंदैछ । आउटरिच म्यानेजरका रूपमा नियुक्त शाहले समग्र म्याराथनमा अप्रेशन टिममा रहेर काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

शान्ति, विकास र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ २०७२ मंसिर ५ गते नेपालगन्ज म्याराथनले आफ्नो यात्रा आरम्भ गरेको थियो । यतिबेला धारा नेपालगन्ज म्याराथन दशौं संस्करणको तयारी सुरु भएको छ ।

Exit mobile version