देशमा आजः ८ बजे ८ खबर

  1. चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन–भदौमा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो ।
  2. उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि मंगलबार रुस प्रस्थान गरेकी छिन् । रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना रुस भ्रमणमा गएकी हुन् ।
  3. बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
  4. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन् ।
  5. इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।
  6. राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।
  7. तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार, चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छ वटा जन्मिने क्रममा छन् ।
  8. पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।
Exit mobile version