देशमा आजः ८ बजे ८ खबर

  1. सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् । उनले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषताहरूमा अहिले कुनै संशोधन नहुने बताए ।
  2. प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा एमाले महासचिव शंकर पोखरेलले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा ‘क्लिन चिट’ प्राप्त गरेको प्रचार गर्नु अनुसन्धानलाई प्रभावित गर्ने षड्यन्त्र भएको बताएका छन् ।
  3. प्रथम अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले जितेका छन् । अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका सन्दर्भमा शनिबार ताप्लेजुङमा आयोजित प्रतियोगितामा विजयी उनले ४ घण्टा १६ मिनेटमा निर्धारित दुरी पार गरेका हुन्।
  4. दसैं नजिकिदै जाँदा देशभरका सबै सडक घटस्थापना अगाडि नै मर्मत सम्भार गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् ।
  5. शनिबार पेरिसडाँडामा शहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन् ।
  6. संसदीय छानबिन विशेष समितिले अध्ययन गरेका ४० वटा संस्थामा मात्र बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन भएको प्रतिवेदनले औंल्याएको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनका अनुसार ३ अर्ब ८१ करोड सेयर पुँजी रहेको ती संस्थाको कुल सम्पत्ति करिब १३ अर्ब रुपैयाँ छ ।
  7. लुम्बिनी प्रदेश सरकारको निर्देशनपछि सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले निजी क्लिनिकमा टाँगेका नेमप्लेट हटाउन थालेका छन् । सरकारी डाक्टरहरूद्वारा निजी क्लिनिकको प्रचारले बुटवलको सरकारी स्वास्थ्य सेवाप्रति अविश्वास बढ्न थालेको भन्दै प्रदेश सरकारले निगरानीमा कडाइ गर्न थालेपछि हटाउन थालेका हुन् ।
  8. कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।
Exit mobile version