तीन महिनामै फेरिए भेरीका मेसु

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुुपरिटेन्डेन्ट परिवर्तन गरिएको छ । तीन महिना अघि भेरी अस्पतालमा प्रमुख मेसुको जिम्मेवारी पाएका डा. प्रकाश बहादुर थापालाई हटाइएको छ ।

मन्त्री स्तरीय निर्णयबाट भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुुपरिटेन्डेन्टको जिम्मेवारी डा. निराजन सुवेदीलाई दिइएको छ ।

छोटो समयमा राजनीतिक निर्णयबाट सरकार फेरिना साथ मेसु फेरिंदा अस्पतालका दीर्घकालीन योजनाहरू कार्यान्वयनमा ढिलाई हुने गरेको छ । स्थानीय स्तरमा सरकार परिवर्तन लगत्तै अस्पतालको प्रमुख जिम्मेवारीमा रहने मेसु परिवर्तनको आलोचना समेत हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरू फेरिएका हुन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटालाई जिम्मेवारी दिएका
छन् । विभागमा महानिर्देशक रहेकी डा संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।

यस्तै, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा डा सरोज शर्माले जिम्मेवारी पाएका छन् । यसअघि महाशाखामा डा मदन उपाध्याय प्रमुख थिए । उनलाई वीर अस्पताल पठाइएको छ ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका
छन् । महाशाखा प्रमुख डा चुमनलाल दासलाई सरुवा गर्दै सापकोटालाई जिम्मेवारी दिइएको हो । डा दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुखमा डा पवनजंग रायमाझी आएका छन्। महाशाखामा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।

टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन् । केन्द्रका निर्देशक डा अनुज भट्टचनको सार्क टिबी सेन्टरमा निर्देशकको रूपमा सरुवा भएको छ । सार्क टिबी सेन्टरमा रहेकी डा मनिषा रावललाई केन्द्रिय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।

कारागार अस्पतालमा निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ। उनी मन्त्रालयका प्रवक्ता समेत हुन् ।

यसैगरी, कोशी अस्पतालको प्रमुख मेसुमा डा रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन् ।

उपचारात्मक महाशाखामा डा सुधा देवकोटाले जिम्मेवारी पाएकी छिन् भने महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ ।

यसैगरी, डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा नरेन्द्र खनालले जिम्मेवारी पाएका छन् ।

Exit mobile version