विपद् पूर्व तयारीका लागि कृत्रिम अभ्यास

बाँकेमा सामाजिक सेवा दिवसका अवसरमा बाढी पूर्व सूचनामा आधारित पूर्वकार्यका गतिविधिहरू अन्तर्गत शिघ्र स्थानान्तरण सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

डुडुवा गाउँपालिका वडा नं. १ चौफेरीको सामुदायिक भवनमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा भएको कार्यक्रममा बोडर चौफेरी र कृषि चौफेरीका समुदायको सहभागिता रहेको थियो । यसैगरी सोही प्रकृतिको कृत्रिम घटना अभ्यास राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा आयोजना गरियो ।

बाढी आउनु भन्दा पहिला पूर्वसूचना प्राप्त हुनसाथ समुदायलाई सतर्क गराउने र बाढी आउनसक्ने उच्च सम्भावना रहेको सूचना प्राप्त जोखिम समुदायका मानिस र उनिहरूको घरयासी सामान प्राथमिकताको आधारमा सुरक्षित स्थानमा समुदायकै अगुवाईमा स्थानान्तरण गर्ने गराउने अभिप्रायले समुदाय, वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिको सहभागिता र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा बाढी विपद्को उच्च जोखिम रहेका समुदायमा राप्तीसोनारी, नरैनापुर र डुडुवा गांउपालिका संगको समन्वय र सहकार्यमा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरू संचालन भैरहेको छ। राप्तीसोनारी गा.पा. वडा नं. ६ खल्ला टेपरी र ७ पिप्रहवा देउपुरा, नरैनापुर गा.पा. वडा नं. ६ भोजपुर र गंगापुर तथा डुडवा गाउँपालिका वडा नं. १ कृषि र बोडार चौफेरीमा कार्यक्रम संचालन भै रहेको छ ।

कृत्रिम घटना अभ्यासमा पूर्वसूचना सन्देश प्रवाह, सामुदासिक विपद् व्यवस्थापन समितिको बैठक, पानी निकासका लागि नाला सरसफाइ, पानी शुद्धीकरण विधि, सुरक्षित अस्थायी आवास निर्माण, अपाङ्गग मैत्री शौचालय, खानेपानीको व्यवस्थापन, संकटासन्न व्यक्तिहरूलाइ सुरक्षित स्थानमा स्थानान्तरण लगायत परिदृष्य समावेश गरिएको थियो ।

कार्यक्रममा नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, नरैनापुर गा.पा. वडा न. ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गा.पा. वडा नं. ६ का लवराज खरेल, ७ का वडा अध्यक्ष रामलखन थारु, स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्रका प्रतिनिधि, नेरेसो सोनारी उपशाखा सभापति यज्ञनारायण शर्मा, बेतहनी उपशाखा सभापति सोहनलाल यादव र गंगापुर उपशाखा सचिव शालिकराम साहु लगायत समुदायको सहभागिता रहेको थियो भने सहजकर्ताहरूमा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, लेखा अधिकृत झवीलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवाली रहेका थिए ।

Exit mobile version