बाँके : हुण्डीमा संलग्न दुई १६ लाख सहित पक्राउ

अबैध रूपमा हुण्डीको कारोबारले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । विगतमा नेपालमा ठूलो परिमाणमा हुण्डिको कारोबार भैरहेको आशंका गरिन्छ । प्रहरीले बेलाबेला हुण्डि कारोबारीलाई पक्राउ गर्दै आएको छ ।

लाखौँ नेपालीहरू वैदेशिक रोजगारमा छन् । त्यसैको बलमा देशको अर्थतन्त्र अडिएको छ । नेपालको अर्थतन्त्रलाई रेमिटेन्सले धानेको पनि भनिन्छ । हुन पनि हो, विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर पछिल्लो समयमा बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरूको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ, त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ ।

बाँकेमा पनि हुण्डि कारोबारी फेला परेका छन् । जिल्ला प्रहरी कार्यालउ बाँकेले १६ लाख बढी रकम सहित दुई जनालाई हुण्डि कारोबारमा संलग्न भएको भन्दै मंगलबार पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले प्रहरीले छुट्टाछुट्टै कारवाहीमा हुण्डीको कारोबारमा संलग्नलाई नगद सहित फेला पारेको जानकारी दिए । ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भैरहेको छ’, प्रहरी निरीक्षक मगरले भने ।

प्रहरीले नेपालगन्ज उप–महानगर पालिका वडा नं.४ बस्ने मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रूपैया ९ लाख फेला पारेको र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी लिंदा नेपाली रू ७ लाख १० हजार २ सय ५५ र भारतीय रूपैया ५९ हजार ५ सय फेला परेको हो ।

‘बिभिन्न बैंकमा बिभिन्न ब्यक्तीका नाममा जम्मा गरेका बैंक भौचरहरू लगायत बैंकका टोकनहरू समेत बरामद गरी नेपाली रूपैया १६ लाख १० हजार २ सय ५५ र भारतिय रूपैया ५९ हजार ५ सय सहित निजहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको छ’, बाँके प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version