भन्सार छलिएको १२ लाखको सामान बरामद

वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलेर भित्र्याएको झण्डै १२ लाख बराबरको मालसामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालयले भन्सार छलेर बजार ल्याइसकेको सामान सोमबार बरामद गरेको हो । नेपालगन्ज–४ सल्यानीबागबाट भारतबाट अबैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएको मोबाइल फोनमा प्रयोग हुने १ हजार ८० पिस डिस्प्ले बरामद गरेको वडा प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको डिस्प्लेको मूल्य ११ लाख ८८ हजार रहेको अनुमान गरेको छ ।

बरामद मालसामान प्रहरीले सोमबार नै थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ । यसअघि पनि वडा प्रहरीले पटकपटक भारतबाट भन्सार छलेर ल्याएको मालसामान नेपालगन्ज बजार क्षेत्रबाट बरामद गर्दै आएको छ ।

Exit mobile version