अनुगमनमा खुल्दै बजारको कैफियत

हिन्दुहरूको सबैभन्दा ठूलो पर्व बीच बजार अनुगमनले तिव्रता पाएको छ । अन्य बेला भन्दा पर्वका बेला मालसामानको खरिददारी बढी हुने भएकाले पर्वका बेला अन्य समय भन्दा बढी अनुगमन हुने गरेको छ ।

विभिन्न विषयगत सरकारी कार्यालय तथा गाउँपालिकाहरूले पनि बजार अनुगमनमा चासो दिन थालेका छन् । बाँकेका स्थानीय तह आफैले पनि पर्वका बेला अखाद्य गुणस्तरहीन वस्तु बिक्री नहोस्, उपभोक्ता नठगिउन् भनेर निगरानी बढाएका छन् ।

अनुगमन सँगै बजारमा रहेको बेथिति पनि सार्वजनिक हुन थालेको छ । कोहलपुर नगरपालिकामा पछिल्लो समय भएका संयुक्त बजार अनुगमनमा ३ वटा फर्महरूलाई कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जानकारी दिएको छ । डल्फिन फुड प्रोडक्टस प्रालिलाई ५० हजार, रायरा रेष्टुरेन्ट एण्ड बार प्रालिलाई रु. २० हजार र विनोद किराना पसललाई रु. १० हजार गरिएको थियो । उनीहरू मापदण्ड विपरित रहेको फेला परेपछि जरिवानाको कारवाही गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा भएको अनुगमनका क्रममा पनि फर्महरूले कानुनी मापदण्ड पूरा नगरेको फेला परेपछि जरिवाना गरिएको थियो ।

चाडपर्वका बेला सबैभन्दा बढी उपयोग हुने मासुजन्य पदार्थको कारोबारमा हदैसम्म लापरवाही फेला परेको छ । नेपालगन्जमा बजार अनुगमनका क्रममा बिक्रीका लागि अखाद्य मासु राखेको फेला परेको हो ।

व्यवसायीहरूले बाँकेबाट अन्य जिल्लामा समेत मासु बिक्रीका लागि पठाइने गरिएको छ । त्यसरी पठाइने गरेको मासु विषाक्त पाइएको छ । शनिबार गरिएको अनुगमनका क्रममा हुम्ला लैजान ठिक्क पारिएको मासु समेत अनुगमन टोलीले बरामद गरेको छ ।

‘एयरापेर्टबाट कार्गोमा हुम्ला सीमकोट जान लागिएको २२ केजी मासु बरामद गरिएको हो’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले भने, ‘कसले, कसरी लग्ने थालेको थियो भन्ने अनुसन्धानमा छौ ।’ सडेको मासु नक्कली कागजात बनाएर लग्न खोजिएको आशंका अनुगमन समितिले गरेको छ ।

उपभोक्ताले मासुमा गुनासो गर्न थालेपछि संयुक्त बजार अनुगमन समितिले शनिबार नेपालगन्ज क्षेत्रका मासु पसलहरूको अनुगमन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख खत्रीले १९ वटा मासु पसल अनुगमन गर्दा गुणस्तहीन मासु फेला परेपछि नष्ट गरेको जानकारी दिएका छन् ।

संयुक्त बजार अनुगमन समितिले ५८ केजी खसीको मासु, १ सय ५ केजी कुखुराको मासु र १० केजी माछा नष्ट गरेको हो । समितिले कुल १ सय ७३ केजी अखाद्य मासु नष्ट गरेको जानकारी दिएको छ ।

अनुगमन समितिले दुई वटा मासु पसललाई जरिवाना समेत गरेको छ । ‘बिक्री गर्न नै नमिल्ने मासु बिक्रीका लागि राखेको फेला पारेपछि कारवाही गरेका हौं’, उनले भने ।

वडा नं. १५ को मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नं. २० को दानिस फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको हो ।

नेपालगन्जका पाँच वटा मिठाई पसललाई संयुक्त बजार अनुगमन समितिले कारवाही गरेको छ । पर्वबेला बजार अनुगमनलाई तिव्रता दिएको बजार अनुगमन समितिले सोमबार ८ वटा मिठाइ पसल अनुगमन गर्दा पाँच वटामा कैफियत भेटिएपछि कारवाही गरेको हो । त्यसक्रममा खान आयोग्य १६ हजार ७ सय मूल्य बराबरको मिठाई नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जानकारी दिएको छ ।

संयुक्त बजार अनुगमन समितिले अमन स्वीट हाउसलाई रु. २० हजार, फेमस हलुवा पराठालाई रु. १० हजार, नेपालगन्ज मिष्ठान भण्डारलाई रु. १० हजार, खुसी मिष्ठान भण्डारलाई रु. १० हजार र माँ बागेश्वरी मिठाई पसललाई रु. ५ हजार जरिवाना गरेको हो । बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, गुणस्तर तथा नापतौल कार्यालय बाँके, प्रहरी प्रशासनलगायतको सहभागिता
रहेको थियो ।

‘चाडपर्व मात्रै नभएर अन्य बेला पनि बजार अनुगमन गर्दै आएका छौं’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ४० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । अनुगमनका क्रममा विभिन्न मापदण्ड पूरा नगरेको, अखाद्य बस्तु विक्री गरेको फेला परेपछि वाणिज्य कार्यालयले ती फर्महरूलाई कारवाही गरेको हो ।

तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा अनुगमनका क्रममा ३ सय ४९ फर्म सामान्य अवस्थामा, सामान्य कैफियतमा तत्कालै सुधार गर्न निर्देशन दिइएको फर्मको संख्या १ सय ३९ रहेको जानकारी दिएको छ । वाणिज्यले गत आ.व.मा २ वटा फर्मको कारोबार रोक्का गरेको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा ५ लाख ७२ हजार ९३ रूपैयाँको मालसामान गत आ.व.मा नष्ट गरेको थियो ।

बजारमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको थुप्रै भेटिने गरेका छन् । बजार अनुगमनका बेला भेटिएका अखाद्य पदार्थ भेटिंदा नष्ट गर्ने गरिएपनि अरू बेला निर्वाध बिक्री हुने गरेका छन् । बजारमा हुने बेतिथि अनुगमन र कारवाहीको तथ्यांक हेर्दा देखिन्छ । किराना होस् वा इलेक्ट्रोनिक्स, कपडा वा मिठाई पसल अनुगमनका बेला कैफियत भेटिने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक बर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्टमेटिक, फलफुल तरकारी, मदिरा, हार्डवेयरलाई समेत कुनै नै किसिमको कारवाही गरेको पाइन्छ ।

Exit mobile version