हट्यो ब्यारियरको जोखिम

व्यवस्थित हुँदै नेपालगन्ज नाका, मिल्यो समयको सन्तुलन

भारतसँगको नेपालगन्ज नाका आधा घण्टा बढाइएको छ । जसले भारतीय समयानुसार नाका बन्द हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार, नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको ब्यारियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो ।

यसअघि धेरै पटक दैनिक नेपालगन्जले जमुनाह नाका व्यवस्थापनको विषयलाई लिएर पटकपटक समाचार सामाग्री मार्फत जनताका समस्यालाई उजागर गरेको थियो । त्यसपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट सहित प्रजिअ रिजालले राती जमुनाह नाकाको अनुगमन समेत गरेर नीतिगत सुधारमै लबिङ गरेकाले यो नतिजा प्राप्त भएको हो ।

भारतीय समयाअनुसार ठिक १० बजे नाका बन्द हुने गरेको थियो । जसका कारण भारतबाट हतारहतार नेपालतर्फ आउँदासम्म १५ मिनेट नेपाली समयानुसार ढिलो हुने र चेकजाँच गर्दै भन्सार कार्यालयसम्म आउँदा १५ मिनेट बितिसक्ने कारणले समस्या उत्पन्न भएको थियो । ‘पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियर समेत हटाएर नाका नजिकै यात्रु शाखामा सिङ्गल ब्यारियर बनाइएको छ’, प्रजिअ रिजालले सीमा व्यवस्थापनसँगै यात्रुहरुको आवागमनमा सहजताको प्रयास गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘भन्सारले आफुलाई सक्दो व्यवस्थित गर्दै गएको छ ।’

राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार यात्रु शाखाको ब्यारियर भारतीय नाकाको समय अनुसार व्यवस्थापन गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिएका छन् । प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार, नेपाल तर्फको ब्यारियर अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ । त्यससँगै भन्सार कार्यालयको यात्रु शाखामा रहेको ब्यारियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउने विश्वास व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत पौडेलले यात्रुहरुलाई सहजता हुने बताए ।

भन्सार नियमावली, २०६४ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचनापाटीमा टाँसिदिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।

Exit mobile version