बाँदर आतंकले घर जोगाउनै आपत्

बाँकेको ग्रामिण वस्ती जानकीका बासिन्दाले जंगली बाँदरको आतंकका कारण घर, वाली जोगाउन आपत् परेको गुनासो गरेका छन् । उनीहरुले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै रोष व्यक्त पनि गरेका हुन् ।

‘न घर जोगाउन सकियो, न त अन्नवालीनै,’ जानकी–५ गुरुवागाउँका रामकुमार यादवले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे स्थानीय सरकार पुरै जानकार भएपनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।’ गुरुवागाउँमा हरेक दिनजसो दुईसयको हाराहारीमा रहेका बाँदरका झुण्डले सकेको अराजकता मच्चाउने गरेका छन् । स्थानीय गाउँलेका अनुसार, त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन् । ‘घरको छानामा चढेर खपडा होस् वा घर, टिन सबै विगारिदिन्छन्,’ यादवले गाउँको पछिल्लो अवस्थाबारे सुनाउँदै भन्छन्, ‘पक्की घर भएकाहरुले त्यस्तो समस्या झेल्नु नपरेपनि झ्याल ढोका खुल्ला भएको मौका पारेर भित्र छिरेपछि बाँदरले खाद्यान्नदेखि लत्ताकपडाको सत्यानाश पार्छन् ।’

यतिबेला धान काट्नको चटारोमा किसान छन् । किसान खेतमा गएको बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् । ‘धान फुलेकै बेला नोक्सान पारेका थिए, अहिले पाकेको धानमा हुलका हुल बाँदर पसेर नोक्सान पारिरहेका छन्,’ गुरुवागाउँका अगुवा किसान यादवले छिमेकका अरु गाउँमा पनि समस्या रहेको सुनाउँदै भने ।

जानकीका किसानहरुका अनुसार, बाँदर आतंकले तरकारी खेती र फलफुल खेती लगाउनै नसकिने अवस्था भइसकेको छ । ‘चौकीदार राखेर तरकारी फलफुल खेती गर्दा लगानी उठाउन गा¥हो हुन्छ,’ उनीहरु भन्छन्, ‘त्यो भन्दा तरकारी लगाउनै छाडिएको छ ।’ गाउँलेले त्यसो भनिरहँदा गाउँमा बाँदर लखेट्न हरेकजसो घरमा लठ्ठी बोकेका युवा र छानामा बाँदर दौडादौड गरिरहेको देखिन्थ्यो ।

किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधिपनि बेखबर छैनन् । जानकी–५ का वडाध्यक्ष टिकानाथ यादव आफै बाँदर आतंकको शिकार भएको बताउँछन् । ‘निकै समस्या छ, समाधान दिन सकिएको छैन,’ आफुनै पीडित हुँदापनि केही गर्न नसकिएको स्वीकार गर्दै वडाध्यक्ष यादवले दैनिक नेपालगन्जसँग भने, ‘गाउँलेलाई घर पनि खेत पनि बाँदरले सताएर आपत् बनाएको छ ।’ वडाध्यक्ष यादवले आइतवारसम्म जिल्ला वन कार्यालयसँग बाँदर व्यवस्थापनका लागि सहयोग माग्ने सोंच सुनाउँदै वडास्तरबाट समाधान गर्न सक्ने समस्या नभएकाले जनताको गुनासो बढेको बताए ।

Exit mobile version