नेत्रहीन संघको साधारणसभा

विभिन्न व्यक्ति सम्मानित

बाँके नेत्रहीन संघले आफ्नो २६ औं वार्षिक साधारणसभा आइतबार आयोजना गरेको छ । संघका अध्यक्ष भावुक जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघमा हालसम्म भएका प्रगतीका बारेमा सचिव रमेश शाहुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाका वक्ताहरूले नेत्रहीनहरूले पनि समाजमा उल्लेख्य रूपमा काम गरेर देखाउँदै आएकाले कसैले पनि हेलाको दृष्टिले नहेर्न अनुरोध गरेका थिए । स्थानीय सरकारले पनि दृष्टिविहीनहरूका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू ल्याउन आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।

संघ मार्फत सञ्चालित होस्टेलमा २६ जना बसेर अध्ययन गरिरहेका छन् । १ सय बढी दृष्टिविहीन विद्यार्थीहरू संघको होस्टेलमा बसेर अध्ययन गरि बिदाई भैसकेको संघका अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा वरिष्ठ समाजसेवी जयकेश सिंह, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल र शिक्षक होमनाथ गिरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष सुरेश सिंह ठाकुर, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे, नगरस्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गोकर्ण आचार्य लगायतले बोलेका थिए ।

Exit mobile version