प्रादेशिक महोत्सव गर्दै संघ

नेपालगन्ज उद्योग वाणिज्य संघ प्रादेशिक महोत्सवको तयारीमा जुटेको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गतेदेखि पुस १६ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा प्रादेशिक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘पश्चिम नेपालका स्वदेशी उत्पादन, तराई, पहाड र हिमाली क्षेत्रमा उत्पादित खाद्यवस्तु तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न नेपालगन्ज उद्योग वाणिज्य सघले साढे दुई दशकदेखि व्यापार तथा औद्योगिक मेला लगाउँदै आएको छ’, संघ अध्यक्ष टंक धामीले पत्रकार सम्मेलनमा भने, ‘कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीको मारमा परेका पश्चिम नेपालका, उद्यमी, उद्योगी र व्यवसायीहरूलाई एउटै थलोमा राखेर आर्थिक समृद्धि सम्बन्धी विचार विमर्श गर्ने, स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन प्रादेशिक महोत्सव आयोजना गर्न गइरहेका छौं ।’

‘उद्योग, व्यापार कृषि जडिबुटी र पर्यटन, व्यवसायीक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका आयोजना हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक संघले जानकारी दिएको छ ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष धामीले भने, ‘लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यावसायीहरू समेत एउटै स्थानमा समेटेर आयोजना गर्न लागिएकाले महोत्सवबाट औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा नविन उर्जा थप्दै आर्थिक क्षेत्रबाट राष्ट्रलाई नै ठूलो योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं ।’

संघ अध्यक्ष धामीले प्रादेशिक महोत्सवमा नेपाल लगायत अन्तराष्ट्रिय (छिमेकी राष्ट्रहरू) औद्योगिक एवं व्यापारिक प्रतिष्ठानहरूका साथै सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूलाई सहभागी गराउने बताएका छन् । संघले तीन लाख भन्दा बढीले महोत्सव अवलोकलन गर्ने अनुमान गरेको छ ।

अध्यक्ष धामीले विगतको भन्दा आगामी मेला फरक रहने बताएका छन् । उनले महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृतिको प्रवद्र्धनमा विशेष ध्यान दिइने बताएका छन् ।

निजी कम्पनी तथा कम्पनी सँगको साझेदारीमा हुने गरेको महोत्सव सम्बन्धी प्रश्नमा अध्यक्ष धामीले त्यस विषयमा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण गराइसकेको बताए । ‘व्यक्तिले भन्दा छाता संगठनले मेला, महोत्सव गर्नु उचित हुन्छ, भोलिका दिनमा कुनै समस्या आउँदैन’, अध्यक्ष धामीले भने ।

Exit mobile version